Skip to content
Prabhu

इजरायली आक्रमण ‘असम्भव’– इरानी आणविक ऊर्जा एजेन्सीे

nabil

तेहरान, । इरानको आणविक ऊर्जा एजेन्सीले बुधबार परमाणु सुविधाहरूमा इजरायलको सम्भावित आक्रमण ‘सफल नहुने’ वा ‘कुनै गम्भीर क्षति नपु¥याउने’ र त्यस्तो आक्रमण ‘असम्भव’ रहेको बताएको छ ।

इरानले यसै महिनाको सुरुमा इजरायलमाथि करिब दुई सय मिसाइल प्रक्षेपण गरेलगत्तै इजरायलले प्रतिशोधका लागि तयार रहेको बताएपछि एजेन्सीको यस्तो टिप्पणी आएको हो । इरानको कट्टर शत्रुमाथि यो दोस्रो प्रत्यक्ष आक्रमण थियो ।

‘यो हुने सम्भावना धेरै कम छ’, एजेन्सीका प्रवक्ता बेहरोज कमालवन्दीले नुरन्युज एजेन्सीसँगको भिडियो अन्तर्वार्तामा भने, ‘कुनै प्रमुख स्थलमा आक्रमण भएमाः निश्चित हुनुहोस् कि यो सफल हुने छैन र र यदि उनीहरू (इजरायल) ले त्यस्तो मूर्खतापूर्ण काम गरे भने, उनीहरूले हामीलाई गम्भीर क्षति पुरयाउन सक्ने सम्भावना धेरै कम छ र यदि उनीहरूले केही क्षति पुर्याउन सक्छन् भने पनि, देशले त्यसको क्षतिपूर्ति छिटो गर्न सक्छ ।’

तेहरानले अक्टोबर १ मा इजरायलमाथि गरेको आक्रमण क्षेत्रमा इरान–समर्थित लडाकू नेताहरू र रेभोल्युसनरी गार्ड्सका एक जनरलको हत्याको बदला भएको बताएको थियो ।

सेप्टेम्बर २७ मा बेरुतमा भएको इजरायली हवाई आक्रमणमा हिजबुल्लाह प्रमुख हसन नसरुल्लाह र रेभोल्युसनरी गार्ड्सका जनरल अब्बास निलफोरौशानको मृत्यु भएपछि मिसाइल आक्रमण भएको थियो । साथै मिसाइल आक्रमण जुलाई ३१ मा तेहरानमा प्यालेस्टिनी लडाकू समूह हमासका राजनीतिक नेता इस्माइल हानियाको हत्या पछि पनि गरिएको बताइएको थियो । हानियाको हत्याका लागि व्यापक रूपमा इजरायललाई दोष दिइएको थियो ।

त्यसयता इजरायलले प्रतिकार गर्ने प्रतिज्ञा गरेको छ । रक्षामन्त्री योभ ग्यालेन्टले इजरायलको जवाफ ‘घातक, सटिक र आश्चर्यजनक’ हुने बताएका छन् । इजरायलको शीर्ष हतियार आपूर्तिकर्ता अमेरिकाका राष्ट्रपति जो बाइडेनले इजरायललाई इरानको आणविक वा तेल सुविधाहरूमा आक्रमण नगर्न चेतावनी दिएका छन् ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको कार्यालयले इजरायलले कसरी जवाफी आक्रमण गर्ने भन्ने निर्णय गर्ने बताएको छ । ‘हामी संयुक्त राज्य अमेरिकाको विचारलाई सुन्छौँ तर हामी हाम्रो राष्ट्रिय हितको आधारमा हाम्रो अन्तिम निर्णय गर्नेछौँ’, कार्यालयले मङ्गलबार भनेको छ ।

इरानले आफ्नो ‘पूर्वाधार’ मा कुनै पनि आक्रमणले ‘अझ बलियो प्रतिक्रिया’ निम्त्याउने चेतावनी दिएको छ । इरानका विदेशमन्त्री अब्बास अराघचीले मङ्गलबार संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेरेसलाई यदि इजरायलले आक्रमण गरेमा तेहरान ‘निर्णायक र पश्चातापजनक’ प्रतिक्रियाका लागि तयार रहेको चेतावनी दिएका छन् ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal