Skip to content
Prabhu

बुद्धसिंह मार्गको नाल्दीघाट २० दिनदेखि अवरुद्ध

nabil

तनहुँ । बुद्धसिंह मार्गअन्तर्गत नाल्दीघाट खण्ड २० दिनदेखि अवरुद्ध हुँदा सर्वसाधारण मारमा परेका छन् । चाडपर्वका बेला बाटो अवरुद्ध हुँदा कष्टकर यात्रा गर्नुपरेको उनीहरूको गुनासो छ ।

बुद्धसिंह मार्गका दजैनौं ठाउँमा पहिरो खसे पनि अधिकांश ठाउँका पहिरा पन्छाइएको थियो । तर, नाल्दीघाटको पहिरा अझैसम्म हटाइएको छैन । पहिरोका कारण उक्त सडकको व्यास नगरपालिकास्थित बेलबास, सुँडे, मास्दी, खहरे, नाल्दी, सराङघाट, तल्लो साराङघाट तथा प्यूघरलगायत स्थानमा सडक अवरोध भएको थियो । नाल्दीको पहिरा हटाउन पटकपटक माग गरे पनि सुनुवाइ नभएको बुद्धसिंह मार्ग सरोकार समितिका संयोजक सिद्धान्त थापाको गुनासो छ ।

नाल्दीको पहिरोका कारण यातायात सञ्चालन नहुँदा बन्दीपुर गाउँपालिका–६, आबुँखैरेनी गाउँपालिका–५, देवघाट गाउँपालिका–३ र ४ का जनता मारमा छन् । उक्त सडकको पहिरो पन्छाई यातायात सञ्चालन गराउन बन्दीपुर गाउँपालिकाका अध्यक्ष, प्रमुख जिल्ला अधिकारी र पूर्वाधार विकास कार्यालयका प्रमुखलाई ध्यानाकर्षण गराइए पनि प्रगति नभएको थापा बताए।

गण्डकी प्रदेश सरकारले यस मार्गलाई पृथ्वीराजमार्गको वैकल्पिक मार्गका रुपमा विकास गर्न प्रक्रिया अघि बढाइसकेको छ । सदरमुकाम दमौलीबाट चितवनको घुमाउनेसम्म जोड्ने सो मार्गअन्तर्गत दमौलीबाट सुँढेसम्म कालोपत्रेका लागि निर्माण कम्पनीले प्रारम्भिक चरणको काम थालनी गरेको छ ।

दमौलीबाट सुडेसम्म करिब दश किमी खण्डमा ‘आक्सफाल्ट प्रविधि’ को सडक कालोपत्रेका लागि निर्माण अघि बढाइएको छ । पूर्वाधार विकास कार्यालयले मैनाचुली–सफल जेभी काठमाडौसँग विसं २०७९ भदौ २७ गते सडक कालोपत्रेका लागि सम्झौता गरेको थियो ।

मूल्य अभिवृद्धि करसहित रु. ३४ करोड २७ लाख ५४ हजार पाँच सय ६० मा सम्झौता गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख रवीन्द्र तिवारीले जानकारी दिए । उनका अनुसार उक्त खण्डको कालोपत्रे २०८२ जेठ ३० गतेसम्ममा सम्पन्न गर्नुपर्ने छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal