Skip to content
Prabhu

मनी म्युलको जोखिमबाट बच्न राष्ट्र बैंकको आग्रह

nabil

काठमाडौं । नेपाल राष्ट्र बैंकले मनी म्युल जस्तो वित्तीय अपराधबाट जोगिन सचेतना फैलाउँदै बैंक तथा वालेट खाताको विवरण कसैलाई पनि नदिन सुझाव दिएको हो ।

मनी म्युल भनेको व्यक्तिको बैंक खाता वा वालेटलाई अपराधीहरूले आपराधिक कार्यबाट प्राप्त रकम स्थानान्तरण गर्न प्रयोग गर्ने प्रक्रिया हो, जसमा खाताको स्वामीलाई पनि अपराधमा साझेदार बनाइन्छ । राष्ट्र बैंकले २०८१ मंसिर ६ गते जारी गरेको वित्तीय सचेतना सन्देशमा यस्तो गतिविधिबाट बच्न नागरिकलाई आग्रह गरिएको छ । ‘के तपाईंले आफ्नो बैंक खाता वा वालेट अन्य व्यक्तिलाई प्रयोग गर्न दिनुभएको छ ? यदि छ भने, तपाईं मनी म्युल हुन सक्नुहुन्छ,’ राष्ट्र बैंकले जारी गरेको सूचनामा भनिएको छ ।

अपराधीहरूले मानिसहरूलाई विभिन्न माध्यमहरू जस्तैः इमेल, फेसबुक मेसेन्जर, भाइबर, व्हाट्सएप, टेलिग्राम जस्ता सामाजिक सञ्जालमार्फत छिटो र आकर्षक आम्दानीका प्रस्ताव पठाई झुक्याउने गर्दछन्। यस्ता प्रस्तावमा फस्दा मानिसहरूलाई आफ्नो बैंक खाता वा वालेटको गोप्य विवरण दिइ आफ्नो खाता आपराधिक कार्यका लागि प्रयोग गर्न दिने खतरा रहन्छ ।

राष्ट्र बैंकका अनुसार मनी म्युल अपराधमा संलग्न अपराधीहरूले पीडितको खातामा अवैध रुपमा कमाएको रकम जम्मा गरी त्यसलाई नगदमा झिक्ने वा अन्य खातामा रकमान्तर गर्ने गर्दछन् । यस्तो कार्य सम्पत्ति शुद्धीकरणसम्बन्धी गम्भीर वित्तीय अपराध अन्तर्गत पर्दछ र यसमा संलग्न व्यक्तिलाई कडा कानुनी कारबाही हुने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले आम नागरिकलाई वित्तीय सचेत रहन र यस्तो अपराधबाट बच्न बैंक वा वालेटको जानकारी कुनै पनि व्यक्तिलाई नदिन अनुरोध गरेको छ । साथै, यस्ता कार्यप्रति सचेत रही जिम्मेवार वित्तीय व्यवहार अपनाउन आग्रह गरिएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal