काठमाडौं । नेपाल बैंक लिमिटेडको नाफामा उल्लेख्य सुधार देखिएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा ३२२ प्रतिशतले बढेको हो ।
चालु आर्थिक वर्षको पहिलो ३ महिनामा बैंकले ६० करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२२.९८ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १४ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी घटेपनि इम्पेरमेन्ट चार्ज घटेका कारण बैंकको खुद नाफा उल्लेख्य बढ्न पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ०.४३ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ७.०३ प्रतिशत घटेको छ । बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ०.०८ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ५६४.६१ प्रतिशत बढेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १ अर्ब ३४ करोड १७ लाख रुपैयाँ रहेको इम्पेरमेन्ट चार्ज, चालु आर्थिक वर्षमा घटेर ६८ करोड ८४ लाख रुपैयाँमा झरेको छ । जसका कारण सञ्चालन मुनाफा र खुद नाफा उल्लेख्य बढ्न पुगेको हो ।
असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ९४ करोड ७९ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी २५ रुपैयाँ ८० पैसा रहेको छ । नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि उल्लेख्य बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १२ रुपैयाँ ५१ पैसा बढेर १६ रुपैयाँ ३९ पैसा पुगेको छ । असोज मसान्तसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ २६४ रुपैयाँ ७१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १७.९८ गुणा रहेको छ ।
१४ अर्ब ६९ करोड ४० लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोष पछिल्लो ३ महिनामा ४.५३ प्रतिशत बढेको छ । त्यस्तै, सो अवधिमा बैंकको निक्षेप १.१२ प्रतिशत र कर्जा तथा सापटी २.७९ प्रतिशत बढेको छ।






प्रतिक्रिया दिनुहोस्