एजेन्सी । भारतको स्टार्टअप दुनियाँमा छोटो समयमै युनिकर्न बन्न सफल एउटा कम्पनी त्यति नै छिटो गतिमा टाट पल्टिएको छ । सामान्य योजनाबाट सुरु भएको बायजुले छोटो समयमै ३० खर्ब रुपैयाँको कम्पनी समेत बनेको थियो । तर यो लामो समय टिक्न सकेन र अहिले कम्पनीको सम्पत्ति शुन्यमा झरेको छ ।
केही दिन अघि दुवईमा आफ्नो घरबाट सञ्चारकर्मीहरुसँग कुरा गर्दै कम्पनीका संस्थापक बायजु रविन्द्रनले कम्पनीको सम्पत्ति अब शून्यमा झरेको स्वीकार गरिसकेका छन् ।
बायजु शिक्षा र प्रविधिसँग सम्बन्धित कम्पनी अर्थात् एडटेक क्षेत्रको प्रसिद्ध कम्पनी हो । तर अहिले भने यसको चर्चा नकारात्मक ढंगले हुन थालेको छ । किनभने कम्पनीमा देखिएको वित्तीय संकटका कारण यस टाटपल्टिएको अवस्थामा छ ।
लगानीकर्ता जिम्मेवार
कम्पनीका संस्थापक रविन्द्रनले कम्पनीको भ्यालु जिरो हुनुमा लगानीकर्तालाई जिम्मेवार ठहर गरेका छन् । जब कम्पनीको सेवा विस्तार तथा टेकओभर गर्ने प्रयास गरिएको थियो तब लगानीकर्तालाई हात झिकेको उनको आरोप छ । जसका कारण कम्पनीका अन्य लगानीकर्ता पछाडि हटेकाले कम्पनी लगातार घाटामा गएको थियो ।
तत्कालीन समयमा कम्पनीको व्यवस्थापक परिवर्तनको माग गरिएको थियो । उनका अनुसार कम्पनीका लगानीकर्ताहरुले बिना कुनै योजना व्यवस्थापक परिवर्तनको माग गरिरहेका थिए ।
सन् २०२१ पछि कम्पनीमा आफूहरुले मात्रै लगानी गरिरहेको र अरु कसैले लगानी नगरेको उनको भनाइ छ ।
उनले कम्पनीलाई यहाँसम्म ल्याउनका लागि तीन ठूला लगानीकर्ता जिम्मेवार रहेको बताएका छन् । जसमा प्रोसेस, पिक एक्सभी पार्टनर्स र च्यान जुकरवर्ग इनिसिएटिभ छन् । यी कम्पनीहरुले कम्पनीको बोर्डबाट राजीनामा दिएपछि कम्पनीलाई लगानी जुटाउन समस्या भएको थियो ।
उनले जब कम्पनीले नयाँ कम्पनीहरु खरिद गरिरहेको थियो र व्यवसाय विस्तार गरिरहेको थियो यी कम्पनीहरुले साथ दिइरहेका थिए तर जब कम्पनीमा सामान्य समस्या देखिन थाल्यो तब यी कम्पनीहरुले साथ छाडेका थिए । रविन्द्रनले यी कम्पनीहरुले साथ दिएको भए अहिलेको समस्या नआउने दाबी समेत गरे ।
कम्पनीको सेवालाई विदेशमा समेत विस्तार गर्नका लागि अमेरिकी व्यवसायीहरुसँग कम्पनीले १० हजार करोड भारु ऋण लिएको थियो । उक्त पैसाबाट विदेशका केही कम्पनी खरिद तथा व्यवसाय विस्तार गरिएको थियो । जब कर्जाको भुक्तानीमा समस्या आउन थाल्यो तब कम्पनीका तीन ठूला लगानीकर्ताले एक सातामै साथ छाडेको र त्यसपछि एकाएक संकट गहिरिएको उनको भनाइ थियो ।
उनले भारतीय क्रिकेट बोर्डविरुद्ध पनि आरोप लगाएका छन् । बोर्डले बायजुले आफूहरुलाई १५८ करोड भारु नदिएको आरोप लगाएको छ । सन् २०१९ मा बायजुले भारतीय क्रिकेट बोर्डलाई टाइटर स्पोन्सर गरेको थियो र सन् २०२३ सम्म चलेको स्पोन्सरमा करिब ३०० करोड भारुको रकममा सम्झौता गरिएको थियो । तर कम्पनीले भने १५८ करोड तिर्न सकेन । अहिले पनि कम्पनीसँग १५ हजार करोड भारुको ऋण बाँकी छ ।
सन् २०११ मा रविन्द्रनले कोचिङ कम्पनीमार्फत कम्पनी सुरु गरेका थिए । सन् २०२० मा कम्पनी विश्वको सबैभन्दा धेरै भ्यालुएसन भएको स्टार्टअप कम्पनी समेत बनेको थियो ।
प्रतिक्रिया दिनुहोस्