Skip to content
Prabhu

हिमालयन बैंकको खुद नाफा ७२ करोड बढी, खुद ब्याज आम्दानी कति ?

nabil

काठमाडौं । हिमालयन बैंक लिमिटेको खुद नाफा ७२ करोड भन्दा बढी पुगेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा ७२ करोड ६४ लाख रुपैयाँ पुगेको हो ।

बैंकले चालु आर्थिक वर्षको तीन महिनामा आर्जन गरेको नाफा गत आवको सोही अवधिको तुलनामा ३१.२२ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ५ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी घटेको र गैर सञ्चालन खर्च बढेका कारण बैंकको खुद नाफा घट्न पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २२.८८ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी १५.६८ प्रतिशत घटेको छ । बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा २०.२२ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा २०.२२ प्रतिशत बढेको छ । बैंकको इम्पेरमेन्ट चार्ज रिभर्स भएका कारण सञ्चालन मुनाफा बढ्न पुगेको हो ।

असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ४८ करोड ४४ लाख रुपैयाँ ऋणात्मक रहेको छ । नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ६ रुपैयाँ ९ पैसा घटेर १३ रुपैयाँ ४२ पैसामा झरेको छ । असोज मसान्तसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ १७९ रुपैयाँ ६८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २०.६५ गुणा रहेको छ ।

२१ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोष पछिल्लो ३ महिनामा ४.४३ प्रतिशत बढेको छ । त्यस्तै, सो अवधिमा बैंकको निक्षेप १०.९५ प्रतिशत बढेको छ भने कर्जा तथा सापटी १.५७ प्रतिशत घटेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal