काठमाडौं । सानिमा बैंक लिमिटेडको नाफा ३९ करोड भन्दा बढी पुगेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार ३९ करोड ९५ लाख रुपैयाँ नाफा कमाएको हो ।
चालु आवको पहिलो तीन महिनामा कमाएको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १७.२७ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४८ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेसँगै बैंकको खुद नाफा घट्न पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १३.२६ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ७.५२ प्रतिशत बढेको छ। बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ५.१५ प्रतिशत र सञ्चालन मुनाफा २०.८० प्रतिशत घटेको छ ।
असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ७१ करोड ३५ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिसेयर आम्दानी १७ रुपैयाँ ७६ पैसा रहेको छ । नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३ रुपैयाँ ४४ पैसा घटेर ११ रुपैयाँ ७७ पैसा झरेको छ । असोज मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ ९६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३०.१४ गुणा रहेको छ ।
१३ अर्ब ५८ करोड १५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोष पछिल्लो ३ महिनामा ५.३७ प्रतिशत बढेको छ । त्यस्तै सो अवधिमा बैंकको निक्षेप १.३४ प्रतिशत र कर्जा तथा सापटी ०.९२ प्रतिशत बढेको छ ।
प्रतिक्रिया दिनुहोस्