काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडको नाफा बढेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको नाफा र पतिसेयर आम्दानीमा सुधार देखिएको हो ।
चालु आर्थिक वर्षको पहिलो ३ महिनामा बैंकले ८६ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.१७ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ८२ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी घटेपनि इम्पेरमेन्ट चार्ज रिभर्स भएका कारण बैंकको खुद नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १५.७५ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ७९.८५ प्रतिशत बढेको छ। बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा १.६१ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ३.५८ प्रतिशत बढेको छ । सो अवधिसम्ममा बैंकको ५ करोड ७१ लाख रुपैयाँ इम्पेरमेन्ट चार्ज रिभर्स भएको छ ।
असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब २३ करोड १३ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिसेयर आम्दानी ३६ रुपैयाँ ५७ पैसा रहेको छ । नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १ रुपैयाँ ४६ पैसा बढेर ३६ रुपैयाँ ५७ पैसा पुगेको छ। असोज मसान्तसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ २२७ रुपैयाँ १३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १९.३८ गुणा रहेको छ ।
९ अर्ब ४२ करोड ९४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोष पछिल्लो ३ महिनामा ७.७१ प्रतिशत बढेको छ । त्यस्तै, सो अवधिमा बैंकको निक्षेप ०.९३ प्रतिशत र कर्जा तथा सापटी १ प्रतिशत बढेको छ ।
प्रतिक्रिया दिनुहोस्