म्याग्दी । बेनी नगरपालिका–६को एक्लेपीपलबाट जम्रेनी क्षेत्रमा बाटो खुलेको २५ वर्षपछि सडक कालोपत्रे भएको छ । बेनी नगरपालिकाले बेनी–पात्लेखेत सडक आयोजनामार्फत एक्लेपीपलबाट जम्रेनी क्षेत्रको सडक कालोपत्रे र ढलानसहित स्तरोन्नति गरेको हो । बेनी–६ का वडाध्यक्ष कृष्णसिंह बानियाँका अनुसार यहाँ २०५६ सालमा सडकको सडक निर्माण गरिएको हो ।
सडक स्तरोन्नति भएपछि आवतजावत गर्न सहज भएको छ । यो सडक निर्माणका लागि गत आर्थिक वर्ष २०८०÷८१ मा १ करोड ३४ लाख ६६ हजार ९ सय २९ रुपैयाँमा निर्माण कम्पनीसँग सम्झौता भएको थियो । सात सय मिटर प्रिमिक्स प्रविधिको कालोपत्र, एक सय २५ मिटर ढलान, सात सय मिटर पानीका निकाका लागि नाली र छ सय मिटर पर्खाल निर्माण भएको छ ।
यो सडकले बेनी नगरपालिका–६, ९, १० हुँदै रघुगङ्गा गाउँपालिका–५, ६ र ८ नम्बर वडालाई जिल्ला सदरमुकामसँग जोडेको छ । साथै, गण्डकी प्रदेश सरकारको बजेटमा पूर्वाधार विकास कार्यालयले १० करोड १६ लाख एक हजार तीन सय ६४ रुपैयाँको लागतमा बेनी–पाखापानी सडकको भुतेदैला–नेप्टेचौर–तोरीपान खण्डमा चार किलोमिटर सडक स्तरोन्नति गर्ने आयोजना सञ्चालन गरेको छ ।
नगरपालिकाले चालु आर्थिक वर्षमा तीन करोड रुपैयाँ बजेट विनियोजन गरेको बेनी–पात्लेखेत सडकको तोरीपानीबाट पात्लेखेततर्फ स्तरोन्नतिको तयारी गरेको नगरप्रमुख सुरत केसीले बताए।
प्रतिक्रिया दिनुहोस्