काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड ( निफ्रा) को नाफा घटेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफामा गिरावट आएको हो ।
चालु आर्थिक वर्षको पहिलो ३ महिनामा बैंकले ३५ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.२२ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४१ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेसँगै बैंकको खुद नाफा घट्न पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १९.८० प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी १७२.६३ प्रतिशत बढेको छ। बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा १८.४४ प्रतिशत र सञ्चालन मुनाफा १५.२१ प्रतिशत घटेको छ ।
नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १ रुपैयाँ १६ पैसा घटेर ६ रुपैयाँ ५० पैसामा सीमित भएको छ । असोज मसान्तसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ ११५ रुपैयाँ ३८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४४.४७ गुणा रहेको छ।
२१ अर्ब ६० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोष समीक्षा अवधिमा २७.९३ प्रतिशत बढेको छ । त्यस्तै, सो अवधिमा बैंकको निक्षेप १४८.९३ प्रतिशत र कर्जा तथा सापटी १२.९९ प्रतिशत बढेको छ ।
प्रतिक्रिया दिनुहोस्