काठमाडौं । चालु आर्थिक पहिलो त्रैमासिकमा कुमारी बैंक लिमिटेडको नाफामा उल्लेख्य सुधार आएको छ । बैंकले सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमाससम्मको अवधिमा १ अर्ब ७ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।
यो गत वर्षको सोही अवधिको भन्दा ३०८.५० प्रतिशतले धेरै हो । गत वर्ष यसले २६ करोड ३९ लाख रुपैयाँ नाफा कमाएको थियो । यस अवधिसम्म आइपुग्दा खुद ब्याज आम्दानी ७.७५ प्रतिशतले घटेर २ अर्ब ८० करोड ६२ लाख कायम भएको छ । त्यस्तै गत वर्ष उक्त आम्दानी ३ अर्ब ४ करोड थियो ।
बैंकको इम्पेयरमेन्ट चार्ज २ अर्ब १८ करोडबाट घटेर ६३ करोड ६ लाख रुपैयाँ कायम भएको छ । उक्त चार्ज घट्दा नाफामा सुधार देखिएको हो । यता, सञ्चालन नाफा २५४ प्रतिशत बढेको छ । यसको वितरणयोग्य नाफा भने ऋणात्मक छ ।
चुक्ता पुँजी २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा १५ अर्ब ४५ करोड रुपैयाँ जम्मा रहेको छ । यसको प्रतिसेयर आम्दानी १६.४४ रुपैयाँ पुगेको छ । प्रतिसेयर नेटवर्थ १४६ रुपैयाँ २२ पैसा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्