काठमाडौं । भाइटीकाकै दिन देशका धेरै ठाउँमा वर्षा हुने पूर्वानुमान गरिएको छ । पश्चिमी वायुको प्रभावले यही कात्तिक १८ र १९ गते देशका धेरै ठाउँमा वर्षा हुने सम्भावना देखिएको हो । यस वर्षको भाइटीका कात्तिक १८ गते आइतबार परेको छ ।
मौसमविदहरुले पश्चिमी वायुको प्रभावले आगामी आइतबार अपराह्नदेखि सोमबारसम्म लगातार वर्षा हुने सम्भावना देखिएको बताएका छन् ।
भाइटीकाको दिनभन्दा त्यसको भोलिपल्ट (सोमबार) अझ धेरै वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार कोशी प्रदेशका जिल्लामा र सोमबार मधेस, बागमती र गण्डकी प्रदेशमा समेत वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ ।
सामान्यतया पश्चिमी वायु मेडिटेरियन रिजनबाट आउँछ । यसले वायुमण्डलको माथिल्लो भागमा जलवाष्पयुक्त हावा ल्याउँदै छ भने अरेबियन सागरबाट वायुमण्डलको तल्लो भागमा जलवाष्पयुक्त हावा आउने छ । यी दुवै मिसिएर नेपालमा पानी पार्ने सम्भावना देखिएको हो ।
यस वर्ष जुन १० अर्थात् जेठ २८ गते नेपाल भित्रिएको मनसुन १२५ औं दिनमा असोज २६ गते बाहिरिएको थियो । यस वर्ष मनसुन बाहिरिएपछि पनि ठाउँ–ठाउँमा वर्षा भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्