भक्तपुर । चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले नगरपालिका वायु गुणस्तरको सुधार लागि कार्यविधि बनाएर अघि बढ्ने पहिलो स्थानीय तह भएको दाबी गरेका छन् । नगरपालिकाको सहकार्यमा राष्ट्रिय सञ्चार केन्द्रले नगरपालिकाको कार्यालयमा आयोजना गरेको अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै नगरप्रमुख खत्रीले वायु गुणस्तरको सुधार लागि कार्यविधि नै बनाएर अघि बढ्ने पहिलो नगर रहेको बताएका हुन् ।
‘सरसफाइको तालिम दिने र वायु गुणस्तरको सुधार लागि कार्यविधि नै बनाएर अघि बढ्ने चाँगुनारायण नै देशभरमा पहिलो हो’, उनले भने । कार्यक्रममा नगरप्रमुख खत्रीले नगरले सधैँ नगरबासीको आवश्यकताको क्षेत्रमा र हकहितमा नै काम गरिएको बताएका छन् । ‘हामीले निर्वाचित भएर आएबाट नै जनहितका लागि कार्यहरू गर्दै आएका छौँ । भौतिक पूर्वाधारको विकास सँगसँगै सामाजिक र मानवीय विकासलाई पनि प्राथमिकतामा राखेर अगाडि बढिरहेका छौँ । तर, प्रचार प्रसार खासै नभएका कारण हामीले नगर र वडा स्तरबाट गरेको काम नगरबासीसमक्ष पुगेको भने छैन,’ नगरप्रमुख खत्रीले भने ।
नगरपालिकाले आगामी वर्ष २०८२ लाई ‘नगरकोट भ्रमण वर्ष २०८२’ का रूपमा मनाउने तयारी गरिएको छ। त्यसका लागि धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रको मर्मतसम्भार, स्तरोन्नतिका कार्यका लागि योजना बनाइरहेको नगर प्रमुख खत्रीको भनाइ थियो । तर, संघीय सरकारको कार्यक्षेत्र अन्तर्गत रहेको नगरकोट–कमलविनायक सडकखण्ड समयमै मर्मत नहुनाले भने पर्यटकको आगमनमा केही असहजता हुनसक्ने खत्रीले बताए ।
गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण चाँगुनारायण नगरपालिकामा मानवीय क्षति नभए पनि भौतिक क्षति धेरै भएको बताउँदै प्रमुख खत्रीले पूर्वाधार निर्माणका लागि छुट्याइएको बजेटको १० प्रतिशत रकम कटाएर विपद् व्यवस्थापनका लागि कोषमा जम्मा गरिएको जानकारी दिए ।
अन्तरक्रियाका क्रममा नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले आफ्नो नगरको भौगोलिक बनावटका कारण यातायातको समस्या रहे पनि त्यसको समाधानका लागि कार्यविधि नै बनाएर पास गराइएको जानकारी दिए । बस नचल्ने स्थानमा ‘अटो’ र दसैँको समयबाट ईभी गाडी चलाउन सुरु गरिएको उप प्रमुख बुढाथोकीले जानकारी दिए ।
चाँगुनारायण नगरपालिकाका अधिकांश वडा ग्रामीण बस्ती रहेको र स्थानीयको आम्दानीको प्रमुख आम्दानीको स्रोत कृषि रहेको छ । नगरभित्रका ८० प्रतिशत जमिनमा कृषि उत्पादन गरिँदै आए पनि को पर्याप्त मात्रामा रासायनिक मल ल्याउन भने समस्या परेको उपप्रमुख रमेश बुढाथोकीले जानकारी दिए । तर, नगरपालिकाले पशुपालनमा भने उल्लेख्य प्रगति गरेको उनको भनाइ छ ।
कार्यक्रममा नगरपालिकाका प्रशासन प्रमुख सुरज पौडेलले पछिल्लो नेतृत्व आएसँगै सडक लगायतका पूर्वाधारको क्षेत्रमा उल्लेख्य कार्यहरू भइरहेको दाबी गरे । वडा कार्यालयको भवन निर्माण भइरहेको साथै, बाढी पहिरोले बिगारेको सडकहरूको पुनर्निर्माण कार्यहरू पनि सँगसँगै लगिएको उनले बताए ।
कार्यक्रममा बोल्दै २ नं वडाका वडाध्यक्ष सोम प्रधानले शिक्षा क्षेत्रमा आफ्नो वडा अब्बल रहेको दाबी गरे । हालैको एसईईको नतिजामा पनि नगरभरिमै सबैभन्दा धेरै अंक ल्याउने विद्यार्थी सोही वडाको सामुदायिक विद्यालयको रहेको उनको भनाइ थियो । ६ नं वडाका अध्यक्ष धन बहादुर लामाले हरेक आवश्यकता पूरा गर्ने प्रयास गरिएको दाबी गर्दै वडाले आफ्नै क्यालेन्डर निर्माण गरेर त्यसै अनुसारका कार्यक्रम सञ्चालन गर्दै आएको बताए । पर्यटकको आकर्षणको केन्द्र मानिने नगरकोटमा सडकको दुरावस्था लगायतका कारण पर्यटकको आगमनमा कमी आएको लामाले बताए ।
हिन्दु धर्मको स्कन्दपुराणलाई आधार बनाएर महादेव पोखरी र बौद्ध धर्मको स्वयम्भू पुराणलाई आधार मानेर महामञ्जुश्रीको प्रचार प्रसार गर्न सके विभिन्न देशका पर्यटकहरू धार्मिक पर्यटनका लागिसमेत उक्त स्थान आउन सक्ने लामाको भनाइ थियो ।
कार्यक्रममा बोल्दै वडा नम्बरका वडा अध्यक्ष श्यामनायजु श्रेष्ठले आफू निर्वाचित भएर आएपछि अघिल्ला कार्यकालमा पुरा नभएका कार्यहरूलाई निरन्तरता दिएको बताए । उनले पछिल्लो समय धार्मिक तथा ऐतिहासिक क्षेत्रको संरक्षण, फल्चा निर्माण, मन्दिर पुनर्निर्माण आदिका कार्यहरू समेत गरिएको जानकारी दिए ।
कार्यक्रममा राष्ट्रिय सञ्चार केन्द्रका तर्फबाट दिवस गुरागाइँले नगरपालिकालाई ८ क्षेत्रमा सुधार र नयाँ कार्यक्रमका लागि सुझाव दिएका थिए । उनले पुरातात्त्विक तथा सांस्कृतिक, पर्यटकीय, कृषि, स्वास्थ्य लगायतका क्षेत्रमा सुधार गर्नुपर्ने क्षेत्र औँल्याएका थिए । राष्ट्रिय सञ्चार केन्द्रका अध्यक्ष पेशल आचार्यले केन्द्रले स्थानीय तहदेखि संघीय सरकारसँगको समन्वयमा अध्ययन, अनुसन्धानलगायत काम गर्दै आएको बताए ।
कार्यक्रममा केन्द्रका उपाध्यक्ष एवं पत्रकार महासंघ भक्तपुरका पूर्वअध्यक्ष पुष्करराज बुढाथोकी र पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगत् प्रजापतिले पनि मन्तव्य राखेका थिए ।
प्रतिक्रिया दिनुहोस्