Skip to content
Prabhu

दुई महिनामा झण्डै ६७ खर्ब तरलता प्रशोचन, बैंक तथा वित्तीय संस्थाहरूका शाखा साढे ११ हजार

nabil

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूको शाखासंख्या ११ हजार नाघेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको भदौ मसान्तसम्म सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंक, १७ वटा विकास बैंक, १७ वटा फाइनान्स कम्पनी, ५२ वटा लघुवित्त र एउटा पूर्वाधार विकास बैंक सहितका वित्तीय संस्थाहरुका कुल शाखासंख्या ११ हजार पाँच सय ३३ पुगेको हो ।

बैंकिङ क्षेत्रको कुल शाखासंख्यामध्ये चालू आर्थिक वर्षको भदौ मसान्तसम्म वाणिज्य बैंकहरूको कुल शाखासंख्या ५ हजार ६४ पुगेको छ । यस्तै विकास बैंकहरूको कुल शाखा १ हजार १३६ पुगेको छ । फाइनान्स कम्पनीहरूको २८८ र लघुवित्त वित्तीय संस्थाहरूको ५ हजार ४५ वटा शाखा कार्यालय छन् ।

राष्ट्र बैंकका अनुुसार २०८१ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूको कुल शाखासंंख्या ११ हजार ५३० वटा थिए । जसमध्ये वाणिज्य बैंकहरूको ५ हजार ५६, विकास बैंकहरूको १ हजार १३५, फाइनान्स कम्पनीहरूको २८८ र लघुवित्त वित्तीय संंस्थाहरूको ५ हजार ५१ वटा शाखाहरू सञ्चालनमा थिए ।

केन्द्रीय बैंकको तथ्यांक अनुसार २०८० असार मसान्तम वाणिज्य बैंकहरूको शाखा कार्यालय ५ हजार ४९, विकास बैंकहरूको १ हजार १२८, फाइनान्स कम्पनीहरूको २८४ र लघुवित्त वित्तीय संस्थाहरूको ५ हजार १२८ समेत गरी कुल ११ हजार ५८९ वटा शाखाहरू थिए ।

दुई महिनामा झण्डै ६७ खर्ब तरलता प्रशोचन

बैंकिङ प्रणालीमा अधिक तरलता भएसँगै नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको पछिल्लो दुई महिनाको अवधिसम्म झण्डै ६७ खर्ब रुपैयाँबराबरको तरलता प्रशोचन (बैंकिङ प्रणालीबाट अधिक तरलता खिच्ने कार्य) गरेको छ । राष्ट्र बैंकका अनुसार यस अवधिमा निक्षेप संकलन बोलकबोलमार्फत ४ खर्ब २४ अर्ब ७५ करोड र स्थायी निक्षेप सुविधामार्फत ६२ खर्ब ७० अर्ब ४० करोड गरी कुल ६६ खर्ब ९५ अर्ब १५ करोड (कारोबारमा आधारित) तरलता प्रशोचन गरिएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा ओभरनाइट तरलता सुविधा र स्थायी तरलता सुविधालगायतका उपकरणहरूमार्फत खुद ३ खर्ब ६२ अर्ब ३६ करोड तरलता प्रवाह गरिएको थियो । राष्ट्र बैंकका अनुसार चालू आवको भदौ मसान्तसम्ममा राष्ट्र बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरू)बाट अमेरिकी डलर ८३ करोड ४७ लाख खुद खरिद गरी एक खर्ब ११ अर्ब ९७ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर ७७ करोड ७८ लाख खुद खरिद गरी एक खर्ब दुई अर्ब ८७ करोड तरलता प्रवाह गरिएको थियो ।

राष्ट्र बैंकका अनुसार चालू आवको भदौ मसान्तसम्ममा अमेरिकी डलर ५६ करोड २० लाख बिक्री गरी ७५ अर्ब ३९ करोडबराबरको भारतीय रुपैयाँ खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर ४४ करोड बिक्री गरी ५८ अर्ब २६ करोडबराबरको भारतीय रुपैयाँ खरिद भएको राष्ट्र बैंकको भनाइ छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal