काठमाडौं । तिहारअघि नेप्सेमा सूचीकृत ६२ कम्पनीहरुले लाभांश घोषणा गरेका छन् । हालसम्म म्युचुअल फन्डसहित ६२ कम्पनीले लगानीकर्तालाई लाभांश घोषणा गरेका हुन् ।
जसमध्ये २७ म्युचुअल फन्ड छन् भने ३५ कम्पनीहरु रहेका छन् । ३५ मध्ये २५ वटाले साधारण सभाको मिति तय गरिसकेका छन् । यी मध्ये धेरैको साधारण सभा सम्पन्न भइसकेको छ भने केही कम्पनीको बाँकी छ । हालसम्म लाभांश घोषणा गरेका कम्पनीमा ७ वाणिज्य बैंक, १ विकास बैंक, २ लगानी कम्पनी, २ जीवन बिमा कम्पनी, २ उत्पादन कम्पनी, २ होटल, ८ लघुवित्त र ११ हाइड्रोपावर कम्पनी छन् । लाभांश घोषणा गरेकामध्ये अधिकांश कम्पनीले बोनस सेयरलाई प्राथमिकता दिएका छन् । लगानीकर्तालाई छुट्याइएको बोनस सेयरमा कर लाग्ने भएकाले केहीले कर प्रयोजनका लागि मात्रै नगद लाभांश घोषणा गरेका छन् ।
लाभांश घोषणा गर्ने मध्ये युनिलिभर नेपाल लिमिटेडले सबैभन्दा धेरै लाभांश घोषणा गरेको छ । गत वर्षको नाफाबाट यस कम्पनीले सेयरधनीलाई कर सहित प्रतिकित्ता १ हजार ७१४ रुपैयाँ नगद लाभांश घोषणा गरेको छ । बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेका हुन् भने अन्य कम्पनीहरुले आर्थिक वर्ष २०८०/८१ सम्मको सञ्चित नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेका हुन् ।
लाभांश घोषणा गरेपछि कम्पनीहरुले साधारण सभामार्फत पारित गर्छन् । साधारण सभाबाट पारित भएपछि मात्रै लगानीकर्ताले बोनस सेयर डिम्याट खातामा र नगद लाभांश बैंक खातामा पाउने गरेका छन् । कम्पनीले करका लागि छुट्टै नगद लाभांश व्यवस्था नगरेमा लगानीकर्ताले नै तिर्नुपर्ने हुन्छ ।
यस्तै, लाभांश घोषणा गर्नेमा म्युचुअल फन्डहरुको बाहुल्यता रहेको छ । हालसम्म २७ म्युचुअल फन्डले गत वर्षको नाफाबाट लाभांश घोषणा गरेका छन् । यी सबैले बुक क्लोजको मिति तय गरिसकेका छन् । यी मध्ये अधिकांशले त लगानीकर्ताको खातामा नगद लाभांश पनि जम्मा गरिसकेका छन् । म्युचुअल फन्ड मध्ये सबैभन्दा धेरै लाभांश घोषणा गर्नेमा सानिमा इक्विटी फन्ड रहेको छ । यसले गत वर्षको नाफाबाट इकाइधनीलाई १५ प्रतिशत बोनस सेयर घोषणा गरेको छ । एनआइसी एसिया सेलेक्ट ३० ले १४ प्रतिशत नगद लाभांश दिने जनाएको छ ।
यी हुन लाभांश घोषणा गरेका कम्पनीहरु
प्रतिक्रिया दिनुहोस्