Skip to content

ढोरपाटन नगरपालिकाका कँडेल सरकारी जागिरसँगै कालिजपालनमा

nabil bank

बागलुङ । यहाँको ढोरपाटन नगरपालिका–२ सलामकोटका चूडामणि कँडेलले ६ वर्षदेखि कालिजपालन गरेका छन् ।

पेसाले स्वास्थ्यकर्मी कँडेल बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत छन् । उनी कार्यालय बाहेकका समय कालिज फार्ममा खटिनुहुन्छ । कँडेलले काभ्रेपलाञ्चोकबाट तीन पोथी र एउटा भाले कालिज लिएर कालिजपालन सुरु गरेका थिए। रु. २४ हजारमा चार कालिज ल्याएर सुरु गरेको व्यवसायमा कँडेलले हालसम्म रु. २५ लाख बढी लगानी गरिसक्नुभएको छ ।

कालिज व्यवसाय फस्टाउँदै गएपछि हाल चल्लासमेत उत्पादन गरिरहनु भएको छ । रहरले सुरु गरेको कालिजपालनले व्यावसायिक रुप लिएपछि उहाँ दङ्ग हुनुहुन्छ । कँडेलले ६ वर्ष अगाडि ‘सानो स्वर्ग’ नामको फार्म दर्ता गरेर कालिजपालन थालेका हुन् । सुरुमा चल्ला व्यवस्थापनमा समस्या भए पनि हाल ह्याचरीमार्फत चल्ला उत्पादन गरिरहेको उनले बताए । चल्ला उत्पादन बढ्दै जाँदा बजार पाउन भने मुस्किल पर्न थालेको उनले सुनाए ।

‘केही वर्ष अघि एउटा कालिज फार्म हेर्ने अवसर मिल्यो, त्यसपछि काभ्रेबाट चार वटा कालिज ल्याएर पाल्न थालेँ, त्यतिबेला मैले व्यवसाय गरुँला भन्ने सोचेको थिइँन’, उनले भने, ‘पछि ती चल्ला हुर्केर दुई सय अण्डा दिए, त्यस पछि व्यावसायिक गर्नुपर्छ कि भन्ने सोच आयो । रहरैरहरमा थालेको कालिजपालन अहिले व्यवसायमा रुपान्तरण भयो ।’

कोभिड–१९को महामारीका बेला एकै पटक पाँच सयवटा कालिज मरेपछि लाखौँको नोक्सानी व्यहोर्नु
पर्यो । फार्म रित्तो भएपछि पुनः चल्ला ल्याउनुपरेको उनले बताए । कँडेलले उत्पादन गरेको कालिज बुर्तिबाङ, बागलुङसहित काठमाडौँसम्म पुग्ने गरेका छन् । भाले कालिजलाई रु. दुई हजार पाँच सय र पोथी कालिजलाई रु. एक हजार पाँच सयमा बिक्री गर्दै आएको उनले बताए । दसैँमा तीन सयवटा कालिज बिक्री भयो । हाल फार्ममा सात सय कालिज छन् । वार्षिक १२ लाखको कालिज बिक्री हुने उनले जानकारी दिए ।

एउटा कालिज बिक्रीका लागि तयार हुन करिब सात महिना लाग्छ । उत्पादन अनुसार बजार पाउन सकेमा अझै धेरै आम्दानी लिन सकिने उनको भनाइ छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime