Skip to content

बेमौसमी वर्षाले धान बालीमा क्षतिहुँदा किसान समस्यामा

nabil bank

बाँके । सोमबार साँझ परेको बेमौसमी वर्षाले बाँकेमा काटेर खेतमै सुकाएको धानबालीमा क्षति पुर्याएको छ । वर्षाले भित्र्याउन ठिक्क परेको धानको बाला रुझाएको छभने काट्न ठिक्क परेको धान खेतमा नै झारिदिएको हो ।

वर्ष दिनसम्म खाने धानबाली वर्षाले भिजाएर क्षति पुर्याएको नेपालगञ्ज–१७ परसपुरका किसान रामसुरत बर्माले बताए । दुई बिघा खेतमा लगाएको मसिनो जातको धान काटेर स्याहार्ने बेला गए रातिको वर्षाले भिजाएर ठूलो क्षति भएको उनको भनाइ छ । केही दिनदेखि मौसम पूर्ण रूपमा नखुलेका बेला डराइडराई धान काटेका किसानलाई वर्षाले निराश पारेको छ ।

नेपालगञ्ज–१७ थुकैलागाउँकी किसान मायावती यादवले वर्षभरि खाने धान क्षणभरमै भिजेर नष्ट भएको बताइन् । ‘धान काटेको तीन दिन भयो, दिपावली मनाएर घर लैजाने भनेको पानीले रुझायो, अब धान र पराल काम नलाग्ने भयो,’ उनले भनिन् । बेमौसमी वर्षाले धान स्याहार्न नपाएका यहाँका किसानलाई चिन्तित बनाएको छ । कृषि ज्ञान केन्द्र बाँकेका कार्यालय प्रमुख वरिष्ठ कृषि विज्ञ विनोद घिमिरेले बेमौसमी वर्षाले काटेको धानमा ठूलो क्षति पुर्याएको बताए । ‘अचानक परेको पानीले अन्य बालीमा असर नपुगे पनि काटेको धानलाई क्षति पुर्याएको छ, के कति क्षति भयो भन्ने तथ्याङ्क सङ्कलनमा लागेका छौँ’, उनले भने, ‘बाँकेमा छिटो पाक्ने धान किसानले स्याहारिसकेका छन्, ढिलो पाक्ने धान भित्र्याउने बेला क्षति पुगेको छ ।’

उनले छिटो पाक्ने धान रोपेका बाँकेका अधिकांश किसानले धान स्याहारेर गहुँ, तोरीखेतीका लागि खेत तयारी गरिरहेको जानकारी दिए । करिब ६० प्रतिशत बढी किसानले धानबाली भित्र्याइसकेको अनुमान रहेको प्रमुख घिमिरेले बताए । बाँकेमा यो वर्ष धान उत्पादन बढ्ने अनुमान गरिएकामा बेमौमी वर्षाले धानबालीमा क्षति पुर्याएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi