काठमाडौं । देशैभरीका डिजिटल स्टार्टअपहरुको सहभागितामा काठमाडौंमा २ दिने स्टार्टअप एण्ड आइडिया फेस्ट कार्यक्रमको आयोजना हुने भएको छ । लिभिङ विथ आइसिटीले आयोजना गर्ने यस प्रर्दशनीमा १०० भन्दा बढि स्टर्टाअप र इन्नोभेसनहरुको प्रदर्शनी रहने छ । उक्त प्रर्दशनी यहि कात्तिक २९ र ३० गते काठमाडौं बत्तिसपुतली स्थित अनुपम फुडल्याण्डमा आयोजना हुन लागेको हो ।
कार्यक्रममा ठुलो संख्यामा डिजिटल स्टार्टअप र इन्नोभेसनहरुको सहभागिता रहनेछ । आइसिटी अवार्ड २०२४ को प्रि–इभेन्टको रुपमा आयोजना हुने उक्त कार्यक्रममा द स्क्वाइड अफ चेन्जमेकर र इन्जिनियरर्स भ्लग्सको सहकार्य रहेको छ । यस फेस्टमा आइसिटी अवार्ड २०२४ को प्रतिस्प्रधाबाट छानिएका उत्कृष्ट १२ स्टार्टअप, प्रडक्ट र इन्नोभेसनहरुले समेत फेस्टमा आफ्ना आइडिया र प्रडक्टहरुको शोकेस गर्नेछन । यसैगरी आयोजकले सातै प्रदेशबाट छनौट गरेर ल्याएका ३० बढि स्टार्टअपहरुको पनि यस कार्यक्रममा सहभागिता रहनेछ । यसैगरी सह आयोजक स्क्वाइड अफ चेन्जमेकरले स्टिम क्याम्प, रकेट साइन्स र गेमहरु सञ्चालन गर्नेछ भने इन्जिनियर भ्लग्सले रोबोट प्रतिस्प्रधा गराउनेछ ।
स्टार्टअप एण्ड आइडिया फेस्ट नेपालमै केहि नयाँ काम गरिरहेका स्टार्टअप, विद्यार्थी र इन्नोभेटरहरुलाई प्रवद्धन गर्न आयोजना गरिएको आयाजक समितिका अध्यक्ष राजन लम्सालले बताए । यस कार्यक्रम मार्फत सरकार, इकोसिस्टम विकासमा योगदान दिने सस्था र सरोकारवालासँगै लगानी र सहयोग गर्न चाहनेहरुलाई सहकार्यको लागि आयोजकले आब्ह्वान गरेको छ । आइडिया र प्रडक्टमा लगानी गर्न इच्छुक भिसीहरुको लागि फेस्टमा नेटवर्किङको व्यवस्था पनि गरिने आयोजक लिभिङ विथ आइसिटीले जानकारी दिएको छ ।
प्रविधि क्षेत्रको सबैभन्दा ठुलो र प्रतिष्ठित अवार्डको रुपमा स्थापित आइसिटी अवार्डको प्रि इभेन्टको रुपमा आयोजना हुने स्टार्टअप फेस्ट नेपालकै ठुलो स्टार्टअप प्रवद्धनात्मक कार्यक्रमको रुपमा स्थापित भएको छ । यस कार्यक्रममा प्रर्दर्शनीमा सहभागी हुन अवलोकनकर्ताले कुनै शुल्क तिर्नुपर्दैन । विभिन्न विद्यालय र कलेजहरुबाट अवलोकनको लागि आउने विद्यार्थीहरुको लागि थप सहजिकरण गरिने आयोजकले जानकारी दिएको छ ।
दुई दिने प्रदर्शनीसँगै काठमाडौं वाहिरबाट सहभागी हुन आएका स्टार्टअपहरुलाई मेन्टरिङ तथा इन्क्युवेसन सेसनहरु सञ्चालन हुनेछ । किङ्स कलेजको सहकार्यमा बुटक्याम्प, एमआइटी कलेजको सहकार्यमा मेन्टरिङ सेसन, सेडर गेट र एफवान सफ्टसँगको सहकार्यमा इन्डस्ट्री भिजिटका विभिन्न कार्यक्रमहरु सञ्चालन हुनेछन । यि सबै कार्यक्रममा सहभागिताको लागि स्टार्टअपहरुले कुनै शुल्क तिर्नु पर्दैन । सातै प्रदेशका स्टार्टअपहरुबाट हरेक प्रदेशका उत्कृष्ट एक एक स्टार्टअपलाई आइसिटी अवार्डको ग्राण्ड फिनालेमा सम्मान पनि गरिनेछ ।
आइसिटी अवार्ड २०२४ को लागि विभिन्न १४ विधामा छनौट प्रकृया सञ्चालनमा छ । विभिन्न चरणको छनौट पश्चात उत्कृष्ट १२ मा पर्न सफल स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार र सोसियल इन्नोभेसनहरुले पनि यस कार्यक्रममा सहभागी जनाएर आफ्नो व्यवसायलाई प्रवद्धन गर्न सक्नेछन । अवलोकनकर्ताले आफुलाई मन परेका स्टार्टअप र प्रडक्टलाइ भोट पनि गर्न सक्नेछन् । आइसिटी अवार्डका विभिन्न अन्य १० विधामा दोश्रो चरणको छनौट प्रकृया जारी छ । छनौट प्रकृयाको लागि १७ जना विज्ञ जुरी समिति र १३ जना विशिष्ट सल्लाहकार समिति गठन गरिएको छ ।
नेपाल वाहिरका स्टार्टअपहरुको लागि साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड पनि आयोजना हुनेछ । नेपालको सबैभन्दा प्रतिष्ठित अवार्डको रुपमा परिचित आइसिटी अवार्डको नवौं सस्करण पुस ५ गते आयोजना हुनेछ । स्टार्टअप एण्ड आइडिया फेस्टसँगै अवार्डको लागि दर्जनौ प्रि–इभेन्टहरु सञ्चालन हुनेछन । कान्तिपुर टेलिभिजनले २ महिनासम्म स्र्टाटअप र आइडिया पिचिङको विशेष कार्यक्रमको रुपमा टेलिभिजन सिरिजहरु प्रशारण गर्नेछ । आइसिटी अवार्ड र फेस्टको बारेमा जानकारीको लागि www.nepalistartup.com हेर्न सकिनेछ ।
प्रतिक्रिया दिनुहोस्