Skip to content
Prabhu

नेपाल–बंगलादेशबीच जनता-जनतामा सम्बन्ध विस्तार हुनुपर्छः ऊर्जामन्त्री

nabil

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल–बंगलादेशबीच जनस्तरमा सम्बन्ध विस्तार हुनुपर्ने बताएका छन् ।

साउथ एसिया बिजनेस पार्टनरशीपले आयोजना गरेको ‘एसियन बिजनेस पार्टनरसीप समिट तथा अवार्ड वितरण समारोह’ मा उनले पाँच दशक लामो सम्बन्ध रहेको नेपाल र बंगलादेशबीच रहीआएको सम्बन्ध जनस्तरमा विस्तार हुनुपर्ने बताए ।

ऊर्जामन्त्री खड्काले नेपाल र बंगलादेशबीच भर्खरै ऊर्जा क्षेत्रमा समेत व्यापारिक सम्बन्ध विस्तार गरेको बताए । ‘भर्खरै नेपालबाट ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गरेर ऊर्जा क्षेत्रमा नेपाल भारत र बंगलादेशबीच त्रिदेशीय सम्बन्ध विस्तार गरेका छौँ’, मन्त्री खड्काले भने । उनले नेपालको स्रोतको अत्यधिक प्रयोग गरेर बंगलादेशको ऊर्जा आवश्यकतालाई पूरा गर्न लागिएको भन्दै नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न बंगलादेशका व्यवसायीलाई आग्रह समेत गरे ।

बंगलादेश कृषि क्षेत्रमा आत्मनिर्भर भई विदेशमा समेत बिक्रीवितरण गर्दै आएको भन्दै मन्त्री खड्काले बंगलादेशबाट नेपालले समेत पाठ सिक्न जरुरी रहेको बताए । नेपाल र बंगलादेशबीच आवतजावतमा भिसाको समस्या रहेको भन्दै उक्त समस्या समाधानमा सरकारले काम गर्ने उल्लेख गरे ।

कार्यक्रममा संसद्का अर्थ समितिका सभापति सन्तोष चालिसेले नेपाल र बंगलादेशबीच धार्मिक, सांस्कृतिक, कूटनीतिक सम्बन्ध रहेको भन्दै यसलाई झन प्रगाढ बनाउनुपर्ने बताए । उनले दुई देशबीचको व्यापारिक सम्बन्धलाई झन बलियो बनाएर अगाडि बढ्नुपर्ने धारणा राखे। सोही अवसरमा बंगलादेशको व्यवसाय तथा शिक्षा क्षेत्रमा विशेष योगदान दिएका व्यक्तिलाई अवार्ड प्रदान गरिएको थियो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal