काठमाडौं । यो साता सेयर बजारमा सामान्य गिरावट आएको छ । गत साताको तुलनामा यो साता सेयर बजार परिसूचक २ अंकले घटेको हो ।
गत साता २६७७ अंकमा रहेको बजार यो साता २६७५ अंकमा झ¥यो । तिहारपछि खुलेको बजारमा यो साता दुई दिन मात्रै कारोबार भयो । दुई दिन नै बजार झिनो अंकमा घट्यो । मंगलबार ०.२१ र बुधबार १.८८ अंक घटेको हो । बिहीबार छठ पर्वका कारण बजार बन्द रह्यो । बजार घट्दा कारोबार रकम पनि घटेको छ ।
गत साताको अन्तिम दिन ५ अर्ब ९५ करोडको कारोबार भएकोमा यो साताको अन्तिम दिन ५ अर्ब २२ करोडको भयो । मुख्य चाडपर्वहरु सकिएसँगै आइतबारदेखि बजार खुल्नेछ ।
हाइड्रोपावर धेरै बढ्दा बैंकिङ घट्यो
यो साता हाइड्रोपावर सेक्टर सबैभन्दा धेरै १.२५ प्रतिशत बढ्यो । यो साता मूल्य धेरै बढेका टप १० कम्पनीमा अधिकांश हाइड्रोपावर कम्पनी रहे । हाइड्रोपावर कम्पनीहरूको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण राम्रो आउने लगानीकर्ताको अनुमान छ ।
बैंकको घटेको ब्याजदरको प्रभावले वित्तीय लागत घट्ने र त्यसले नाफामा टेवा पुग्ने लगानीकर्ताको अनुमान छ । शुक्रबार मात्रै वित्तीय विवरण सार्वजनिक गरेको सुपरमादी हाइड्रोपावरको वित्तीय लागत घटेकै कारण नाफा ५० प्रतिशतले बढेको छ ।
कम्पनीको बिक्री आम्दानी घट्दा पनि नाफामा उच्च वृद्धि देखिनुको प्रमुख कारण नै वित्तीय लागत घट्नु हो । यस्तै प्रकारले अन्य कम्पनीको वित्तीय विवरण पनि राम्रो आउने लगानीकर्ताको अनुमान छ । बैंकिङ सेक्टर भने सबैभन्दा धेरै घटेको छ । बैंकहरुको वित्तीय विवरण सार्वजनिक भएपछि नै यो सेक्टरप्रति लगानीकर्ता उत्साहित हुन सकेका छैनन् ।
वित्तीय विवरणअनुसार कर्जा असुलीमा बैंकहरु असफल देखिएपछि लगानीकर्तामा उत्साह नदेखिएको हो । निष्क्रिय कर्जा बढ्नु, बिजनेस घट्नुले आगामी दिनमा पनि वित्तीय स्थिति कमजोर नै रहने शंका लगानीकर्तामा बढाएको छ ।
उच्च कारोबार भएका कम्पनी
यो साता रकमका आधारमा धेरै कारोबार भएका कम्पनीमा नेपाल फाइनान्स सबैभन्दा माथि रह्यो । सो कम्पनीको ६५ करोड रुपैयाँ बराबरको कारोबार भयो । नेपाल फाइनान्सपछि रकमका आधारमा धेरै कारोबार भएका कम्पनीमा सानिमा जीआईसी इन्स्योरेन्स, समृद्धि फाइनान्स, पिपुल्स पावर, एनएलजी इन्स्योरेन्स, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, युनाइटेड मोदी हाइड्रोपावर, रसुवागढी हाइड्रोपावर र साहस ऊर्जा क्रमशः अगाडि रहे ।
कारोबार संख्याका आधारमा भने नेपाल फाइनान्स, समृद्धि फाइनान्स, सानिमा जीआईसी इन्स्योरेन्स, लिबर्टी इनर्जी, मध्यभोटेकोशी हाइड्रोपावर, हिमालयन रिइन्स्योरेन्स, पिपुल्स हाइड्रोपावर, सामलिङ पावर, रसुवागढी हाइड्रोपावर र युनाइटेड मोदी हाइड्रोपावर क्रमशः अगाडि रहे ।
प्रतिक्रिया दिनुहोस्