Skip to content

‘सफल पक्षको जगमा रहेर कमजोर क्षेत्रहरुमा सुधार्नको आवश्यक छ’

nabil bank

काठमाडौं । अर्थतन्त्रका सबल पक्षको जगमा रहेर कमजोर सूचकमा सुधार गर्नुपर्ने सरोकारवालाहरुले बताएका छन् । आज अर्थमन्त्रालयमा आयोजित मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा सहभागि सरोकारवालाले यस्तो बताएका हुन् ।

पछिल्लो समय अर्थतन्त्रका सबै सूचक नकारात्मक नरहेको भन्दै सकारात्मक सूचकको अधिनमा रहेर कमजोर पक्षमा पनि सुधार ल्याउनु पर्ने उनीहरुको भनाइ थियो । बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रका बाह्य र आन्तरिक सूचकहरुको बलियो पक्षमा रहेर कमजोर पक्षमा सुधार गर्नु पर्ने बताए । ‘बाह्य र आन्तरिक सूचकमा रहेका सबलताको जगमा आन्तरिक परिसूचक कमजोर रहेका क्षेत्रहरुलाई सुधार्ने गरी कार्य सम्पादन गर्न मन्त्रालय मातहतका निकायलाई आग्रह गर्छु,’ उनले भने ।

अर्थमन्त्री पौडेलले वैदेशिक मुद्राको सञ्चिती, शोधानान्तर स्थिति, विप्रेषण, बैंकमा अधिक तरलता, न्यून ब्याजदर, मूल्यवृद्धि नियन्त्रण, गत वर्षको तुलनामा राजस्व वृद्धि, आर्थिक वृद्धि दर राम्रो हुने स्थिति भए पनि आयात, निर्यात, उत्पादन, माग, पूँजीगत खर्च, लगानी लगायतका पक्षमा समीक्षा गरेर अघि बढ्न मातहतका निकायलाई निर्देशन समेत दिए ।

सो अवसरमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.शिवराज अधिकारीले अर्थतन्त्रमा देखा परेका सकारात्मक सूचकहरुलाई विशेष ध्यान दिनु पर्ने बताए । ‘अर्थतन्त्रका सफल पक्षमा विशेष ध्यान दिएर त्यसलाई अवसरका रुपमा सदुपयोग गर्न जरुरी रहेको छ,’ उनले भने । उनले समस्याको स्थिति देखाएर मात्र नहुने उल्लेख गर्दै त्यसका कारणहरु र निराकरणका उपायहरु पनि उत्तिकै आवश्यक हुने बताए ।

त्यस्तै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकिङ तरलता, कम ब्याजदर लगायतलाई अवसरका रुपमा लिइ लगानी बढाउन सकिने धारणा व्यक्त गरे । उनले सार्वजनिक र निजी क्षेत्रमा थप काम हुने वातवारण सिर्जना गर्नु अहिलेको मुख्य आवश्यकता भएको बताएका थिए ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime