काठमाडौं । गण्डकी प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य दीपक मनाङे (राजीव गुरुङ) पक्राउ परेका छन् । उनलाई आज काठमाडौंको सानो भर्याङबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
दीपक मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गर्दै सर्वोच्च अदालतले कात्तिक २० गते फैसला सुनाएको थियो । न्यायाधीश डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले तत्कालीन पाटन पुनरावेदन अदालत (हाल उच्च अदालत पाटन) को २०६९ सालको फैसलालाई सदर गरेको हो। उच्च अदालतले उनलाई ५ वर्ष कैद सजाय तोकेको थियो ।
२०६१ सालमा दीपक मनाङेको समूहले मिलन चक्रे भनिने मिलन गुरुङमाथि तरबारले आक्रमण गरेको घटनामा उनी दोषी ठहर भएका थिए । जिल्ला अदालत काठमाडौंले यस घटनामा कर्तव्य ज्यानको आरोपलाई घटाएर कुटपिटमा सीमित गर्दै मनाङेलाई २ वर्षको सजाय सुनाएको थियो भने अन्य अभियुक्तहरूलाई सफाइ दिइएको थियो ।
पुनरावेदन अदालत पाटनले उक्त फैसलालाई उल्ट्याउँदै ०६९ सालमा मनाङेलाई ज्यान मार्ने प्रयासको आरोपमा ५ वर्षको सजाय सुनाएको थियो । सर्वोच्चमा मुद्दा विचाराधीन रहँदै गर्दा मनाङे गण्डकी प्रदेशसभा सदस्य बने र पटक पटक मन्त्री समेत भएका थिए ।
प्रतिक्रिया दिनुहोस्