Skip to content
Prabhu

७ वाणिज्य र २ विकास बैंकको लाभांश घोषणा, केही बैंकको सेयर किन्दा अझै पाइन्छ बोनस

nabil

काठमाडौं । अहिले नेप्सेमा सूचीकृत कम्पनीहरुले आफ्ना सेयरधनीहरुका लागि लाभांश घोषणा गरिरहेका छन् । विभिन्न क्षेत्रका कम्पनीहरुले लाभांश घोषाणा गरिरहँदा वाणिज्य बैंक तथा विकास बैंकहरुले पनि घोषाण गरिरहेका हुन् ।

केही बैंकहरुले भने लाभांश घोषणा गरेर वितरणसमेत गरेका छन् । केही बैंकको सेयर खरिद गर्दा अझै पनि बोनस पाउने अवसर रहेको छ । अहिलेसम्म ७ वटा वाणिज्य बैंक र २ वटा विकास बैंकले लाभांश घोषणा गरेका छन् ।

हालसम्म वाणिज्य बैंकमध्ये नबिल बैंक, प्राइम कमर्सियल बैंक, सानिमा बैंक, ग्लोबल आइएमई बैंक, सिटिजन बैंक, एभरेष्ट बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंक आफ्ना सेयरधनीहरुका लागि वितरण गर्ने लाभांश घोषणा गरिसकेका छन् । त्यस्तै विकास बैंकमा कामना सेवा र शाइन रेसुंगाले लाभांश घोषणा गरेका छन् । एभरेष्ट बैंकले भने साधारणसभा सम्पन्न गरिसकेको छ ।

लाभांश घोषणा गरेका बैंकहरुमध्ये ४ वटा वाणिज्य बैंक र एउटा विकास बैंकको सेयर किन्दा अझै बोनस पाउने सम्भावना रहेको छ । प्राइम कमर्सियल बैंकले आर्थिक वर्षको २०८०/८१ का लागि गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजीको ५ प्रतिशत नगद (करसहित) लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

बैंकले सेयरधनीहरुलाई ५ प्रतिशतले हुन आउने ९७ करोड १ लाख २८ हजार ७८६ रुपैयाँ वितरण गर्ने निर्णय गरेको छ । बैंकले बुक क्लोज मिति भने तय गरेको छैन । ग्लोबल आइएमई बैंकले गत वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई कुल ५.५ प्रतिशत बोनस सेयरमात्रै दिने घोषणा गरेको छ ।

यसका लागि बैंकले मंसिर ९ गते आइतबार १ दिनका लागि बुक क्लोज गर्ने भएको छ । यसका आधारमा मंसिर ८ गते यो बैंकको सेयर खरिद गर्ने लगानीकर्ताहरुले लाभांश प्राप्त गर्न सक्ने छन् । सानिमा बैंकले गत वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई कुल ५.२६३२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

बैंकले यस वर्ष बोनस नदिई नगद लाभांश दिने निर्णय गरेको हो । बैंकले कात्तिक २५ गते बुक क्लोज गरिसकेको छ । त्यसकारण कात्तिक २२ गते विहीबार छठ पर्व परेकाले कात्तिक २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले मात्रै सभामा भाग लिनुका साथै प्रस्तावित लाभांश पाउनेछन् ।

त्यस्तै सिटिजन बैंकले गत वर्षको मुनाफाबाट ४ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । त्यस्तै कर प्रयोजनार्थ ०.२१ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकले लाभांश पारित गर्न १८ औँ वार्षिक साधारणसभा कात्तिक १२ गते काठमाडौंको डिल्लीबजारस्थित अमृतभोमा सम्पन्न गरिसकेको छ ।

एभरेष्ट बैंकले गत वर्षको मुनाफाबाट सेयरधनीलाई कुल १५.५३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । जसमध्ये बैंकले १० प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ भने ५.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । यो बैंकको पनि साधारणसभा पनि सम्पन्न गरिसकेको छ ।

नबिल बैंकले आर्थिक वर्ष २०८०/८१ का लागि गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीलाई चुक्तापुँजीको कुल १० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ । बैंकले बुक क्लोज मिति भने तय गरेको छैन । यसैगरी स्ट्यान्डर्ड चार्टर्ड बैंकले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल २५.५ प्रतिशतले लाभांश घोषणा गरेको छ । जसमा ६.५ प्रतिशत बोनस सेयर र करसहित १९ प्रतिशत नगद लाभांश छन् । बैंकले बुक क्लोजको मिति तय गरेको छैन ।

यता विकास बैंकहरुमा भने हालसम्म कामना सेवा र शाइन रेसुंगाले मात्रै लाभांश घोषणा गरेका छन् । कामना सेवाले आर्थिक वर्ष २०८०/८१ को चुक्तापुँजीको १२ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमा ७ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (करसमेत) गरी १२ प्रतिशत लाभांश घोषणा गरेको हो । कामना सेवाको असोज ३० गते सम्पन्न १८ औँ वार्षिक साधारणसभाले लाभांश अनुमोदन गरिसकेको छ ।

त्यस्तै शाइन रेसुंगाले हाल कायम चुक्तापुँजीको कुल ८ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमा ३ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (करसहित) रहेको छ । शाइन रेसुंगाले बुक क्लोजको मिति तय गरेको छैन ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal