काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको नाफा साढे २० करोड भन्दा माथि पुगेको छ । कम्पनीले आज सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण अनुसार २० करोड ५४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।
कम्पनीले चालु आवमा गत आवको तुलनामा ३०.०६ प्रतिशतले वृद्धि गरेको छ । गत आवको असोज मसान्तसम्म कम्पनीले १५ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको थियो । यसै अवधिमा कम्पनीको जीवन बीमा कोष समेत १९.५४ प्रतिशत वृद्धि भएको छ । गत आवको पहिलो त्रैमाससम्म १ खर्ब ७४ अर्ब ३७ करोड रुपैयाँ रहेको जीवन बीमा कोष चालू आवको यसै समयमा बढेर २ खर्ब ८ अर्ब ४४ करोड रुपैयाँभन्दा माथि पुगेको छ ।
समीक्षा अवधिमा कम्पनीको आम्दानी समेत १४.३० प्रतिशतले वृद्धि भएको छ । गत आवमा कम्पनीको कुल आम्दानी १५ अर्ब ७२ करोड रहेकोमा चालू आवको यसै समयमा बढेर १७ अर्ब ९७ करोड रुपैयाँभन्दा बढी पुगेको छ । त्यस्तै, गत आवको प्रथम त्रैमाससम्म कम्पनीले १० अर्ब ९२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा चालू आवका बढेर ११ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ ।
कम्पनीको चुक्ता पुँजी ८ अर्ब २० करोड रुपैयाँ छ । कम्पनीले पहिलो त्रैमाससम्ममा रिटेन्ड अर्निङमा ७१ करोड १९ लाख रुपैयाँ र महाविपत्ति कोषमा १ अर्ब ११ करोड रुपैयाँ सञ्चित गरेको छ । नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) समेत वृद्धि भएको छ । गत आवको प्रथम त्रैमासमा कम्पनीको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ७० पैसा रहेकोमा चालू आवको यसै समयमा २ रुपैयाँ ३१ पैसाले बढेर १० रुपैयाँ १ पैसा पुगेको छ । त्यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ ९९ पैसा छ ।
प्रतिक्रिया दिनुहोस्