काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा एलआइसी नेपाल लाइफको नाफामा ३५ प्रतिशतले वद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण अनुसार ३५ प्रतिशतले नाफा बढेको हो ।
कम्पनीले चालु आवको पहिलो त्रैमासिकसम्ममा ७ करोड ८८ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीले ५ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीको जीवन बीमा कोषको आकार १ खर्ब २४ अर्ब रुपैयाँ संचित गर्न सफल भएको छ ।
कूल २ अर्ब ६५ करोड ३२ लाख चुक्ता पुँजी भएको एलआईसी नेपालको यस्तो कोषको आकार एक खर्ब २० अर्ब रुपैयाँ रहेको थियो । यस अवधिमा कम्पनी जीवन बीमा कोष ३.१९ प्रतिशतले बढाउन सफल भएको छ । समीक्षा अवधिमा कम्पनीको जगेडा कोष २ अर्ब ६९ करोडबाट बृद्धि भई दुई अर्ब ७७ करोड रुपैयाँको बन्न पुगेको छ । कम्पनीले जगेडा कोषको आकार २.९२ प्रतिशतले वृद्धि भएको छ ।
कम्पनीको कुल बीमा शुल्क आर्जनमा पनि सामान्य बृद्धि भएको छ । गत आवको सोही अवधिमा चार अर्ब ५१ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको कम्पनीले यस आवमा १.४० प्रतिशतले बृद्धि गरेर चार अर्ब ५७ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ७७ पैसाबाट बढेर ११ रुपैयाँ ८८ पैसा पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्