Skip to content
Prabhu

८६ प्रतिशतले घट्यो पहिलो त्रैमासिकमा निर्जीवन बीमा कम्पनीको नाफा, कुन कम्पनीको नाफा कति ?

nabil

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्मको अवधिमा निर्जीव बीमा कम्पनीहरुको नाफामा उच्च गिरावट आएको छ । कम्पनीहरुले सार्वजनिक गरेको चालु आवको तीन महिनाको वित्तीय विवरणअनुसार १४ वटा निर्जीवन बीमा कम्पनीहरुको नाफा ८६.०२ प्रतिशतले घटेको हो ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनाको अवधिमा निर्जीवन बीमा कम्पनीहरुले १६ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । गत आवको सोही अवधिसम्ममा निर्जीवन बीमा कम्पनीहरुले १ अर्ब १९ करोड १६ लाख रुपैयाँ मुनाफा कमाएका थिए ।

कम्पनीहरुले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासिसम्मको अवधिमा ४ वटा निर्जीवन बीमा कम्पनीको नाफा ऋणात्मक बन्न पुगेको छ । चालु आर्थिक वर्षको असोज महिनासम्मको अवधिमा मुनाफा ऋणात्मक हुने निर्जीवन बीमा कम्पनीमा सगरमाथा लुम्बिनी, युनाइटेड अजोड, नेसनल इन्स्योरेन्स र ओरियण्टल इन्स्योरेन्स रहेका छन् । यी चार कम्पनीको मुनाफा ऋणात्मक रहेको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्मको विवरणअनुसार सबैभन्दा धेरै नाफा सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले कमाएको छ । कम्पनीले यो अवधिमा सबै निर्जीवन बीमा कम्पनीहरुलाई पछि पार्दै १५ करोड ६५ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा १३.७४ प्रतिशतले बढी हो । गत आवमा यो कम्पनीको नाफा १३ करोड ७६ लाख रुपैयाँ रहेको थियो ।

नाफा धेरै कमाउने कम्पनीको दोस्रो नम्बरमा शिखर इन्स्योरेन्स रहेको छ । यो कम्पनीले चालु आवको तीन महिनासम्मको अवधिमा ११ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो गत आवको सोही अवधिको भन्दा २.०६ प्रतिशतले धेरै हो । यो कम्पनीले गत आवको सोही अवधिमा ११ करोड २९ लाख रुपैयाँ नाफा कमाएको थियो ।

त्यस्तै चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्मको अवस्थामा नेको इन्स्योरेन्सले ७ करोड ४ लाख रुपैयाँ नाफा कमाएको छ। यो गत आवको सोही अवधिको भन्दा १९.९६ प्रतिशतले कम हो । गत आवमा सोही अवधिमा यो कम्पनीको मुनाफा ८ करोड ८० लाख रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा हिमालयन एभरेष्ट इन्स्योरेन्सले ६ करोड ६१ लाख रुपैयाँ रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । यो गत आवको सोही अवधिको तुलनामा २३.७२ प्रतिशतले बढी हो । गत आवको सुरुको तीन महिनामा यो कम्पनीको खुद मुनाफामा५ करोड ३४ लाख रुपैयाँ रहेको थियो । चालु आवको असोज मसान्तसम्म सिद्धार्थ प्रिमियर इन्स्योरन्सको नाफा ५४.३० प्रतिशतले घटेको छ । गत आवको असोज मसान्तसम्मा १४ करोड बढीको नाफा गरेको कम्पनीले चालु आर्थिक वर्षको असोज मसान्तसम्म ६ करोड ४० लाख रुपैयाँ मात्रै नाफा कमाएको छ ।

समीषा अवधिमा आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सको नाफा १९.५० प्रतिशतले बढेको छ । यो कम्पनीले चालु आवको पहिलो तीन महिनामा ६ करोड १० लाख रुपैयाँ मुनाफा कमाउन सफल भएको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा ५ करोड ११ लाख रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा प्रभु इन्स्योरेन्सको नाफा ५ करोड ६० लाख रुपैयाँ रुपैयाँ पुगेको छ । यो गत आवको सोही अवधिको भन्दा १०.५४ प्रतिशले धेरै हो । यो कम्पनीले गत आवको सोही अवधिमा ५ करोड ६ लाख रुपैयाँ नाफा कमाएको थियो । त्यस्तै यो अवधिमा सानिमा जिआइसी इन्स्योरेन्सको नाफा ५ करोड ८ लाख रुपैयाँ पुगेको छ । कम्पनीले चालु आवको पहिलो त्रैमासिकमा ५०.६० प्रतिशतले नाफा वृद्धि गर्न सफल भएको छ ।

गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा ३ करोड ३७ लाख रहेको थियो । त्यस्तै एनएलजी इन्स्योरेन्सको नाफा यो अवधिमा ४ करोड ८९ लाख रुपैयाँ पुगेको छ । जुन गत आवको सोही अवस्थाको तुलनामा ४.२२ प्रतिशतले कम हो । गत आवको असोज मसान्तसम्म कम्पनीले ५ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

त्यस्तै नेपाल इन्स्योरेन्सले यो अवधिमा १ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आवको सोही अवधिको भन्दा ९२.८८ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा यो कम्पनीले १४ करोड ६१ लाख रुपैयाँ नाफा कमाउन सफल भएको थियो ।

यो अवधिमा युनाइटेड अजोडको नाफा १ करोड ८१ लाख, सगरमाथा लुम्बिनीको ८ करोड ९५ लाख, नेशनल इन्स्योरेन्सको १८ करोड र द ओरियन्टल इन्स्योरेन्सको नाफा २४ करोड ५१ लाख रुपैयाँले ऋणात्मक रहेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal