वेदकोट । वेदकोट नगरपालिका–६ घुर्सुवाका हरिराम चौधरीले १० बिघा जमिनमा पोखरी निर्माण गरेर माछापालन गरेका छन् । डेढ दशकअघिसम्म खेतमा धान, गहुँखेती गर्नु हरिरामको परिवार मुख्य काम थियो ।
विसं २०६५ मा हरिरामका बुबा चन्द्रलालले धानखेतीमै माछापालन थालेका हुन्। माछा बिक्रीबाट राम्रो आम्दानी हुन थालेपछि चन्द्रलाल धान, गहुँखेती छाडेर माछापालनतर्फ लागेका हुन् । ‘सुरुआतमा बुबाले धानखेती हुँदै एक/दुई पोखरीमा माछा पाल्नुभयो, पछि विस्तार गरेर १० बिघा जमिनमै पोखरी निर्माण गरेर माछापालन विस्तार गरियो’, हरिरामले भने ।
विसं २०७२ मा बुबा चन्द्रलालको निधन भएपछि व्यवसायको बिडो थाम्ने जिम्मा छोरा हरिरामको काँधमा आयो । बुबा जीवित हुँदा शिक्षण पेसासँगै माछापालन सघाइरहनुभएको उनी बुबाको निधनपछि भने शिक्षण पेसा छाडेर पूर्ण रूपमा माछापालनमा सक्रिय भए । माछापालनबाट वार्षिक ३० लाख रुपैयाँ आम्दानी गर्ने गरेको हरिराम सुनाए । ‘धान, गहुँखेतीभन्दा पनि माछापालनमा राम्रो आम्दानी छ’, उनले भने, ‘माछाको सङ्ख्याअनुसार आम्दानी हुन्छ । मैले वार्षिक ३० लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको छु ।’
एक माछा एक किलोग्राम तौलको हुनका लागि एकदेखि सवा किलोग्रामसम्म दाना खपत हुने गरेको छ । दश बिघा जमिनमा रहेको पोखरीमा गरिएको माछापालनबाट वार्षिक सात–आठ सय क्विन्टल माछा उत्पादन हुने गरेको हरिराम बताए ।
माछा स्थानीय बजारमै बिक्री गर्ने गरिन्छ । माछाको भुरा र दाना भारतबाट ल्याउने गरेको उनको भनाइ छ । हरिरामले स्थानीय दुई जनालाई माछापोखरीमा रोजगारी पनि दिएका छन् । नेपालमा गुणस्तरीय भुरा र दाना नपाइने हुनाले महँगो मूल्यमा भारतबाट ल्याउनुपर्ने बाध्यता छ । नेपाली बजारमा आउने भारतीय माछाका कारण पनि समस्या हुने गरेको उनले बताए।
हरिरामले माछापालनकै आम्दानीले छोराछोरीलाई पढाउन सहयोग मिलेको छ । उनकी छोरी हाल चिकित्सा शिक्षा पढिरहेका छन् । छोरी भूमिका कोहलपुर मेडिकल कलेजमा एमबीबीएसको अन्तिम वर्षमा अध्ययरत छिन् । छोरा काठमाडौँमा आर्टिफिसियल इन्टेलिजेसन (एआई) अध्ययन गरिरहेका छन् ।
‘शिक्षण र माछापालनतिरै व्यस्त हुँदा सरकारी जागिरका लागि तयारी गर्नतर्फ लागिएन । तयारी गरेको भए सरकारी जागिरे भइन्थ्यो होला, पछि उमेर पनि पुग्यो । अहिले माछापालनबाट पनि राम्रै भएको छ’, हरिरामले भने, ‘सरकारी जागिरे नहुँदा पनि केही छैन । माछापालनले सन्तुष्टि दिलाएको छ ।’
प्रतिक्रिया दिनुहोस्