काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्मको अवधिमा रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको नाफा साढे ८ करोडभन्दा बढी पुगेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार ८ कारोड ६७ लाख ७९ हजार रुपैयाँ नाफा कमाएको छ ।
गत आवको सोही अवधिमा भने यो कम्पनीको नाफा ५ करोड ३ लाख रुपैयाँ रहेको थियो । कम्पनीले प्रकाशित गरेको वित्तीय विरणअनुसार यस अवधिमा २ अर्ब ३४ करोडको व्यापार गरेको छ भने १ करोड १३ लाख रुपैयाँ अन्य आम्दानी गरेको छ । यस अवधिमा कम्पनीको खर्च २ अर्ब ५ करोड ६३ लाख रहेको छ ।
कम्पनीको बिक्री वितरण खर्च ३ करोड ८३ लाख, प्रशासनिक तथा अन्य खर्च ५ करोड ३९ लाख तथा वित्तीय खर्च १० करोड गरेको छ । असोजमसान्तसम्म कम्पनीको संचालनमा नाफा २० करोड ३१ लाख रुपैयाँ रहेको छ । चुक्ता पुँजी १ अर्ब ७० करोड ७३ लाख ४० हजार रुपैयाँ रहेको रिलायन्स स्पिनिङ मिल्सको अन्य इक्विटी ५ अर्ब ४३ करोड २४ लाख रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १९ रुपैयाँ ९५ पैसा कायम भएको छ ।
यो कम्पनीले बुक बिल्डिङ विधिबाट आईपीओ जारी गर्ने प्रक्रियमा रहेको छ । संस्थागत लगानीकर्ताले नै माथिल्लो मूल्य सीमा प्रतिकित्ता ९ सय १२ रुपैयाँका दरले आईपीओ किनेका थिए । सर्वसाधारणलाई त्यसको १० प्रतिशत कम अर्थात् प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसा दरले आईपीओ बिक्री गर्न लागेको होे ।
कम्पनीले कुल जारी पुँजी १ अर्ब ९० करोड रुपैयाँको १०.१४ प्रतिशतले हुन आउने १९ करोड २६ लाख ६० हजार बराबरको १९ लाख २६ हजार ६ सय कित्ता सेयर मात्रै सर्वसाधारण समूहमा जारी गर्ने तयारीमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्