काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । आइतबार निक्षेप संकलन उपकरण बोलकबोलमार्फत २१ दिनका लागि ५० अर्ब तरलता खिच्ने भएको हो ।
बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि चालु आर्थिक वर्षको सुरुवातदेखि नै केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत निरन्तर तरलता खिचिरहेको छ । क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले घटीमा १० करोड र बढीमा ५ करोडले भाग गर्दा निःशेष आउने अंक बराबरको निक्षेप राष्ट्र बैंकमा राख्न सक्ने बैंकले जनाएको छ ।
बैंकहरुले त्यसरी राखेको निक्षेपको ब्याजदर भने बोल कबोलका माध्यमबाट निर्धारण हुनेछ । अर्थात् सबैभन्दा थोरै ब्याजदर कबोल गर्ने बैंक तथा वित्तीय संस्थाको निक्षेप राष्ट्र बैंकले स्वीकार गर्ने राष्ट्र बैंकले जनाएको छ ।
ब्याजदर करिडोर कार्यान्वयनका लागि अन्तरबैंक ब्याजदर ३ प्रतिशतभन्दा तल आउन नदिन राष्ट्र बैंकले निरन्तर तरलता खिच्दै आइरहेको छ । निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ । उक्त रकमको सावाँ र ब्याज भुक्तानी २३ मंसिरमा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्