काठमाडौं । नेपाल राष्ट्र बैंकले शंकास्पद कारोबारमा युवा र विद्यार्थी सबैभन्दा बढी संलग्न रहेको बताएको छ । केन्द्रीय बैंकले नेपाल सरकारलाई पेस गरेको ‘स्ट्रयाटेजिक एनलाइसिस रिपोर्ट–२०२४’ प्रतिवेदनमा यस्तो खुलासा गरेको हो ।
प्रतिवेदनमा सन् २०२४ को पहिलो ५ महिनामा प्राप्त भएका साइबर प्रविधिमा आधारित ठगीसम्बन्धी शंकास्पद कारोबार विवरणको विस्तृत रुपमा विश्लेषण गरिएको छ । उक्त विश्लेषणबाट यस प्रकारको शंकास्पद कारोबारमा १९–२४ वर्ष उमेर समूहका व्यक्ति र पेसामा ‘विद्यार्थी’ उल्लेख गरेका व्यक्ति सबैभन्दा बढी संलग्न रहेको देखिएको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनमा साइबर प्रविधिमा आधारित ठगीका विशेषता र यसमार्फत प्राप्त सम्पत्तिको शुद्धीकरणमा प्रयोग गरिने पद्धतिको चर्चा गरिएको छ । प्रतिवेदनमा ती ठगीमा सामाजिक सञ्जाल र भुक्तानी प्रणालीमा रहेका विशेषताको दुरुपयोगको विषयमा समेत विश्लेपण गरिएको छ ।
यसैगरी अधिकांश शंकास्पद खातामा त्यस्तो खाता सञ्चालन भएको ३ महिनाभित्र शंकास्पद कारोबार भएको पाइएको प्रतिवेदनमा उल्लेख छ । ‘साइबर प्रविधिमा आधारित ठगीका लागि मुख्य रुपमा गिफ्ट पार्सल फ्रड, सोसल मिडिया इम्प्रेसोनेसन, फेक अनलाइन बिजनेस प्लेटफर्म, ओटीपी फ्रड, लटरी फ्रडलगायतका तरिकाको प्रयोग भएको पाइएको प्रतिवेदनमा दर्शाइएको छ ।
प्रतिवेदनको निष्कर्षका आधारमा साइबर प्रविधिमा आधारित ठगी न्यूनीकरण गर्न सूचक संस्था, कानुन कार्यान्वयन गर्ने निकाय, अनुसन्धानकारी निकाय र नियामक तथा सुपरिवेक्षकीय निकायलाई आवश्यक सुझाव सिफारिस गरिएको छ । प्रतिवेदनको अनुसूचीमा सूचक संस्थाका लागि साइबर प्रविधिमा आधारित ठगीसम्बन्धी ‘रेड फ्ल्याग’को सूची प्रस्तुत गरिनुका साथै उक्त ठगी न्यूनीकरण गर्न अन्तर्राष्ट्रिय जगतमा भएका प्रयासका बारेमा समेत चर्चा गरिएको छ ।
राष्ट्र बैंकको वित्तीय जानकारी इकाइले यस वर्ष साइबर प्रविधिमा आधारित ठगीका विपयमा प्रतिवेदन तयार पारेको हो । प्रतिवेदनमा सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा १०(१) को खण्ड (झ) मा सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानीसम्बन्धी कसुरको प्रकार, कसूर गर्ने प्रविधि, पद्धति तथा प्रवृत्तिसमेतका विवरण संलग्न गरी आफ्नो कामकारबाहीसम्बन्धी वार्षिक प्रतिवेदन राष्ट्र बैंकमार्फत सरकारसमक्ष पेस गर्नुपर्ने व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस्