Skip to content
Prabhu

वाणिज्य बैंकहरुबाट सवा ८४ अर्ब सेयर धितो कर्जा प्रवाह

nabil

काठमाडौं । चालु आर्थिक वर्षको प्रथम त्रैमास (साउन–असोज)सम्म वाणिज्य बैंकहरुले करिब सवा ८४ अर्ब रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार वाणिज्य बैंकहरुले ८४ अर्ब २१ करोड ४ लख रुपैयाँको सेयर कर्जा प्रवाह गरेका हुन् ।

२० वटा वाणिज्य बैंकमध्ये १९ वटाबाट उक्त सेयर धितो कर्जा प्रवाह भएको हो । गत आवको सोही अवधिमा भने बैंकहरुले ६३ अर्ब ३३ करोड २३ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका थिए । गत आवको तुलनामा चालु आवमा सेयर धितोकर्जा प्रवाहको ३२.९७ प्रतिशतले बढेको हो । केन्द्रीय बैंकको तथ्यांक अनुसार स्ट्यान्डर्ड चार्टर्ड बैंकले सेयर कर्जा प्रवाह गरेको छैन । बाँकी १९ वटा बैंकले सेयर धितो कर्जा प्रवाह गरेका छन् । जसमध्ये १६ वटा बैंकको यस्तो कर्जा प्रवाह बढेका छ भने ३ वटाको भने घटेको तथ्यांकले देखाएको छ । समीक्षा अवधिसम्म सबैभन्दा बढी सेयर कर्जा प्रवाह गर्नेमा नबिल बैंक रहेको छ ।

यो बैंकले चालु आवको पहिलो तीन महिनासम्मको अवधिमा १० अर्ब ९६ करोड ४४ लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेको छ । गत आवको सोही अवधिसम्ममा बैंकले १० अर्ब ८० करोड ७१ लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेको थियो ।
धेरै सेयर धितो कर्जा प्रवाह गर्ने बैंकको दोस्रो नम्बरमा ग्लोबल आइएमई बैंक रहेको छ । समीक्षा अवधिसम्म यो बैंकले १० अर्ब ७३ करोड ९८ लाख रुपैयाँ सेयर कर्जा गरेको छ । अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ६ अर्ब २३ करोड ५१ लाख रुपैयाँ बराबरको यस्तो कर्जा दिएको थियो ।

केन्द्रीय बैंकको तथ्यांकअनुसार यो अवधिमा सेयर धितो राखेर सिद्धार्थ बैंकले ७ अर्ब ७३ करोड ९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत आवको सोही अवधिसम्ममा बैंकले ४ अर्ब ५२ लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेको थियो । त्यस्तै यो अवधिसम्ममा कुमारी बैंकले ७ अर्ब ७३ करोड ७१ लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेको छ । गत आवको सोही अवधिसम्ममा बैंकले ३ अर्ब ७६ करोड ७२ लाख रुपैयाँ सेयर कर्जा दिएको थियो ।

समीक्षा अवधिसम्म नेपाल बैंकले ७ अर्ब ५३ करोड ५९ लाख रुपैयाँ, सिटिजन्स बैंकले ५ अर्ब ५७ करोड ३२ लाख रुपैयाँ, प्राइम बैंकले ५ अर्ब ५१ करोड ६३ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब १४ करोड २० लाख रुपैयाँ र लक्ष्मी सनराइज बैंकले ४ अर्ब १० करोड ४३ लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेका छन् । यस्तै प्रभु बैंकबाट गएको सेयर कर्जा बापत ३ अर्ब ६४ करोड ४४ लाख रुपैयाँ र नेपाल इन्भेस्टमेन्ट बैंकले ३ अर्ब ८ करोड ५८ लाख रुपैयाँ प्रवाह गरेका छन् ।

समीक्षा अवधिसम्म एनआईसी एसिया बैंकबाट २ अर्ब ९४ करोड ९० लाख रुपैयाँ यस्तो कर्जा प्रवाह भएको छ । यो गत आवको भन्दा ३५ प्रतिशतले कम हो । त्यसतै यो अवधिमा एभरेष्ट बैंकबाट २ अर्ब १२ करोड ५८ करोड रुपैयाँ र सानिमा बैंकबाट १ अर्ब ९१ करोड १२ लाख रुपैयाँ सेयर कर्जा प्रवाह भएको छ । समीक्षा अवधिसम्म हिमालयन बैंकबाट १ अर्ब ७८ करोड ३४ लाख रुपैयाँको सेयर धितो कर्जा प्रवाह भएको छ । यो गत आवको भन्दा २९ प्रतिशतले कम हो ।

समीक्षा अवधिसम्म कृषि विकास बैंकबाट १ अर्ब ६७ करोड ९६ लाख रुपैयाँ, एनएमबि बैंकबाट १ अर्ब ६२ करोड ३८ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकबाट ९० करोड रुपैयाँ र नेपाल एसबीआई बैंकबाट ४५ करोड ३६ लाख रुपैयाँ सेयर कर्जा प्रवाह भएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal