काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले एकै पटक साढे १९ लाखभन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले चार वटा कम्पनीहरूको संस्थापक सेयर बिक्रीमा राखेको हो ।
बैंकले विभिन्न चार कम्पनीमा रहेको आफ्नो स्वामित्वको कुल १९ लाख ६० हजार ६३० कित्ता शेयर बिक्रीमा राखेको हो । बैंकले सिटिजन इन्भेष्टमेन्ट ट्रष्ट (सिआईटी) को ५० हजार कित्ता, सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्थाको ५१ हजार ८०५ कित्ता, सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको ८ लाख ९३ हजार ८२५ कित्ता र नेपाल इन्फास्ट्रक्चर बैंक (निफ्रा)को ९ लाख ६५ हजार कित्ता सेयर बिक्रीमा राखेको हो ।
बैंकले सिआईटीको सेयर ७७९ रुपैयाँ, सूर्याेदय वोमी लघुवित्तको २९७ रुपैयाँ, सूर्यज्योति लाइफको १७८ रुपैयाँ र निफ्राको १०१ रुपैयाँ प्रकित्ता न्यूनतम मूल्यका दरले सेयर बिक्रीमा राखेको छ । सेयर खरीद गर्दा न्यूनतम ५ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ता खरीदका लागि आवेदन दिन सकिनेछ । यी सेयरहरू यसअघि नै संस्थापक सेयरधनीलाई बिक्री प्रस्ताव गरिसकिएकाले अब सर्वसाधारणले समेत खरीद गर्न सक्नेछन् । इच्छुक लगानीकर्ताले आवश्यक कागजात सहित आज मंसिर ३ देखि १० गतेभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ । यसमा बिक्री प्रबन्धकको काम एनआईसी एशिया क्यापिटलले गर्नेछ ।
इच्छुक लगानीकर्ताले थापाथलीस्थित बिक्री प्रबन्धकको कार्यालय र बैंकको कर्पाेरेट कार्यालयका साथै विराटनगर, आदर्शनगर, महेन्द्रपुल, श्रवणपथ, हस्पिटल लाइन र विरेन्द्रनगर शाखा कार्यालयमा आवेदन दिनु पर्नेछ ।
प्रतिक्रिया दिनुहोस्