काठमाडौं । असोज महिनाको दोस्रो सातामा परहेको अविरल वर्षाबाट भएको क्षतिको क्षतिपूर्तिका लागि करिब १२ अर्ब रुपैयाँ बराबरको दाबी परेको छ । बीमा प्राधिकरणको कात्तिक २८ गतेसम्मको तथ्यांकअनुसार बाढी पहिरोबाट ११ अर्ब ८२ करोड ६ लाख ११ हजार ९३० रुपैयाँ दाबी परेको हो ।
प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार ३ हजार ४१८ वटा दाबी परेका छन् । यो १४ वटा निर्जीवन बीमा र चारवटा लघुबीमा कम्पनीमा परेको दाबी हो । यस अवधिमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा २ अर्ब ६० करोड रुपैयाँको दाबी परेको छ । कम्पनीमा हालसम्म ५०१ वटा दाबी परेका छन् । जसमा कम्पनीले ९ करोड ३७ लाख रुपैयाँको दावी भुक्तानी गरिसकेको छ ।
प्राधिकरणका अनुसार हालसम्म बीमा कम्पनीहरुले ६१ करोड ७ लाख ९३ हजार ३८७ रुपैयाँ दाबी भुक्तानी गरेका छन् । दाबी भुक्तानी गर्नेमा शिखर इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । यो कम्पनीले हालसम्म २६ करोडभन्दा माथिको दाबी भुक्तानी गरेको छ । राष्ट्रिय बीमा कम्पनीले भने हालसम्म कुनै पनि दाबीको भुक्तानी गर्न सकेको छैन ।
त्यस्तै, दि ओरिएन्टल इन्स्योरेन्स कम्पनीमा १ अर्ब ५१ करोड रुपैयाँ बढीको १७६ वटा दावी परेका छन् । सगरमाथा लुम्बिनी इन्स्योरेन्समा ३७७ वटा दाबीबापत १ अर्ब ३६ करोड रुपैयाँको दाबी परेको छ । बाढीपहिरोको क्षतिले शिखर इन्स्योरेन्समा ४५३ वटा दावी बराबरको १ अर्ब ५ करोड रुपैयाँको दावी भुक्तानी परेको छ । जसमा कम्पनीले २६ करोड रुपैयाँको दाबी भुक्तानी गरिसकेको छ । यो भुक्तानी भएको रकममध्ये सबैभन्दा बढी हो ।
त्यस्तै हिमालयन एभरेष्टमा १ करोड रुपैयाँ बराबरको २४३ वटा दाबी परेका छन् । यो अवधिसम्मा नेको इन्स्योरेन्समा ७६ करोड रुपैयाँ बराबरको २१९ वटा दावी, युनाइटेड अजोड इन्स्योेरेन्समा ३२३ वटा दावी बापत ७२ करोड रुपैयाँको दावी परेको छ । त्यस्तै, सानिमा जिआइसी इन्स्योरेन्समा ५३ करोड रुपैयाँ, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्समा ५० करोड रुपैयाँ, नेशनल इन्स्योरेन्समा ५० करोड रुपैयाँ, एजएलजी इन्स्योरेन्समा ४७ करोड रुपैयाँ, नेपाल इन्स्योरेन्समा ३६ करोड रुपैयाँको दावी परेको छ ।
प्रभु इन्स्योरेन्समा २० करोड रुपैयाँ र सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीमा २० करोड रुपैयाँको बीमा दाबी परेको छ ।
प्रतिक्रिया दिनुहोस्