Skip to content
Prabhu

नेपालमा आउने विदेशीभन्दा विदेश घुम्न जाने नेपालीको खर्च बढी

nabil

काठमाडौं । विदेशी पर्यटकले नेपालमा गर्ने खर्चको तुलनामा नेपालीले विदेश घुमफिरमा धेरै खर्च गर्ने गरेको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार चालु आव पहिलो तीन महिना (साउन–असोज) मा भ्रमण व्यय ५५ अर्ब ७८ करोड रुपैयाँ रहेको छ ।

यसमध्ये शिक्षामा ३२ अर्ब १८ करोड रुपैयाँ विदेशिएको हो । बाँकी रकम नेपालीले घुमफिर प्रयोजनमा विदेश लगेका हुन् । जुन २३ अर्ब ६० करोड रुपैयाँ देखिन्छ । यस अवधिमा भ्रमण आय १७ अर्ब ७२ करोड रुपैयाँ छ । अर्थात्, यो विदेशी नागरिकले नेपालमा गरेको खर्च हो । यस प्रकार तीन महिनामा विदेशी पर्यटकले नेपालमा गर्ने खर्चभन्दा नेपालीले विदेशमा गर्ने खर्चमाथि रहेको देखिएको छ ।

राष्ट्र बैंकका अनुसार तीन महिनामा भ्रमण आय सामान्य मात्र बढेको छ । अघिल्लो आव पहिलो तीन महिनामा भ्रमण आय १७ अर्ब १३ करोड थियो । भ्रमण व्यय भने उकालो लागेको छ ।

अघिल्लो वर्ष यसै अवधिमा भ्रमण व्यय ५१ अर्ब ८० करोड रुपैयाँमात्र थियो । जसमध्ये शिक्षामा ३२ अर्ब ९२ करोड विदेशिएको थियो । शिक्षामा विदेशिने रकम अघिल्लो आवको तुलनामा केही घटेको देखिन्छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal