Skip to content
Prabhu

१ वर्षमा गभर्नरले लिए साढे ६४ लाख बढी सेवासुविधा, डेपुटीको कति ?

nabil

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एक वर्षमा तलब, भत्ता तथा अन्य सुविधा गरी ६४ लाख ६२ हजार रुपैयाँ बुझेका छन् । राष्ट्र बैंकका गभर्नर अधिकारीले गत आर्थिक वर्ष २०८०/८१ मा एक वर्षको तलब १६ लाख ६२ हजारसहित बैठक भत्ता र अन्य सुविधा गरी सो रकम बुझेको राष्ट्र बैंकले मंगलबार प्रकाशन गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

गभर्नर अधिकारीले बोर्ड बैठक भत्ता ३ लाख ३३ हजार रुपैयाँ र ४४ लाख ९७ हजार रुपैयाँ बराबर अन्य भत्ता तथा सुविधा बापत बुझेको प्रतिवेदनमा छ । आर्थिक वर्ष २०८०/८१ मा केन्द्रीय बैंक सञ्चालक समिति बैठक ३७ पटक तथा व्यवस्थापन समिति बैठक ४७ पटक बसेको थियो । अधिकारीले आर्थिक वर्ष २०७९/८० मा ६० लाख ९१ हजार रुपैयाँ तलब भत्ता र अन्य सुविधाबापत बुझेको थिए । उनको तलब १६ लाख ३२ हजार नै भए पनि अन्य सुविधा बढेसँगै गत वर्ष लिएको कुल सेवा सुविधा बापत रकम बढेको हो ।

राष्ट्र बैंक सञ्चालक समिति सदस्यलाई प्रतिबैठक ९ हजार रुपैयाँ भत्ता दिने व्यवस्था छ । यसबाहेक इन्धन, सवारी मर्मत, टेलिफोन, पत्रपत्रिका, इन्टरनेट, चालक र स्वास्थ्य सुविधा पनि दिइएको हुन्छ । राष्ट्र बैंक सञ्चालक समितिमा गभर्नरसहित ७ सदस्य रहने व्यवस्था छ । गभर्नर सहित दुई जना डेपुटी गभर्नर कार्यकारी पद भएकाले उनीहरूको तलब तोकिएको हुन्छ । अर्थ सचिव र अन्य तीन जना सकारले नियुक्त गरेको सदस्य पनि सञ्चालक समितिमा रहने व्यवस्था छ ।

गभर्नरको तलब १६ लाख ३२ हजार हुँदा दुवै डेपुटी गभर्नरको वार्षिक तलब १४ लाख ६० हजार ४ सय रुपैयाँ छ । गत वर्ष गभर्नर अधिकारीपछि डेपुटी गभर्नर डा. निलम ढुंगाना तिम्सिनाले धेरै तलब भत्ता र सेवा सुविधा रकम बुझेको देखिन्छ । उनले १४ लाख ६० हजार ४ सय तलब, २ लाख ९७ हजार भत्ता र ४५ लाख ५९ हजार अन्य सुविधासहित ६३ लाख १६ हजार बुझेकी छिन् ।

त्यस्तै अर्का डेपुटी गभर्नर बमबहादुर मिश्रले ५८ लाख ४६ हजार रुपैयाँ तलब, भक्ता तथा सुविधा लिएका छन् । उनले १४ लाख ६० हजार ४ सय तलब, ३ लाख १५ हजार भत्ता र ४० लाख ७१ हजार रुपैयाँ अन्य सुविधा लिएका हुन् ।

अर्थ मन्त्रालयको सचिवका रूपमा राष्ट्र बैंक सञ्चालक समितिमा एक वर्षमा तीन जनाले काम गरेका छन् । त्यसैगरी अर्जुनप्रसाद पोखरेलले १ लाख ३७ हजार रुपैयाँ बराबर भत्ता तथा सुविधा लिएका छन् । उनले ५४ हजार भत्ता र करिब ८४ हजार अन्य सुविधा बापत लिएका हुन् ।

पूर्वअर्थ सचिव डा. कृष्णहरि पुष्करले १ लाख ७१ हजार भत्ता र २ लाख १० हजार अन्य सुविधा सहित करिब ३ लाख ७३ हजार बुझेका छन् । त्यस्तै अर्थ सचिव हुँदा मधुकुमार मरासिनीले भत्ता तथा सुविधावापत एक लाख ३९ हजार बुझेका छन् । उनले ६३ हजार भत्ता र बाँकी रकम अन्य सुविधा लिएका हुन् ।

अन्य सञ्चालकहरू चिन्तामणि शिवाकोटीले बैठक भत्ता ३ लाख २४ हजार र अन्य सुविधा ८ लाख ७३ हजार गरी ११ लाख ९७ हजार बुझेका छन् । अर्का सञ्चालक डा. शंकरप्रसाद आचार्यले बैठक भत्ता २ लाख ८८ हजार र अन्य सुविधा ११ लाख १३ हजार समेत कुल १४ लाख १ हजार बुझेका छन् ।

त्यसैगरी सञ्चालक डा. रवीन्द्रप्रसाद पाण्डेले भत्ता तथा सुविधा बापत ११ लाख ८६ हजार रुपैयाँ बराबर लिएका छन् । उनले बैठक भत्ता ३ लाख ३३ हजार र अन्य सुविधा ८ लाख ९३ हजार बराबर लिएका हुन् ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal