पाल्पा । रामपुरका खेतबारीमा लहलहाएका काउली, बन्दा, साग, मुलामा झुसिलकिराको प्रकोप बढेपछि व्यावसायिक रूपमा सागसब्जी उत्पादनका लागेका किसानहरू नराम्ररी पिरोलिएका छन् ।
रामपुर नगरपालिका–६ प्याक्लुककी अगुवा किसान राधिका बस्यालले काउलीमा झुसिलकिराको प्रकोपले सताएको दुखेसो गरे । ‘काउलीका बोट फस्टाएका छन् तर कीराका प्रकोपले फूल लाग्न पाएका छैनन् । कीरा मार्ने प्रयास जारी रहे पनि त्यसमा सफल भएका छैनौं ।’
यसैगरी, रामपुर–५ स्थित राङभाङमा टिकीसरा गौतमको काउलीमा पनि झुसिलकिराले आक्रमण गरेको छ । व्यावसायिक उत्पादनमा लागेकीकी उनी पनि कीराले पिरोलिएकी छन् । उनले भने, ‘बोट सप्रेका छन्, कीराको प्रकोपले उत्पादन नै नहुने हो कि भन्ने चिन्ता छ ।
झुसिल्किराको प्रकोप नियन्त्रण गर्न रामपुर नगरपालिका कृषि शाखाले स्थलगत निरीक्षण गरेको छ । पालिकाले किसानलाई निःशुल्क विषादी वितरण गरेको शाखा प्रमुख नारायणप्रसाद गैरेले जानकारी दिए । बेमौसमी खेती भएकाले कीराको प्रकोप भएको उनले बताए । ‘इनामेक्टिन इन्जाइम बेन्जोइड’ विषादी प्रयोग गर्न किसानलाई सुझाव दिइएको उनले बताए।
प्रतिक्रिया दिनुहोस्