Skip to content
Prabhu

तनहुँको छिम्केश्वरी लाब्दीमा २० रोपनी जमिनमा रायो सागखेती

nabil

तनहुँ । समुद्री सतहबाट दुई हजार एक सय ३४ मिटर उचाइमा रहेको आँबुखैरेनी–५ छिम्केश्वरी लाब्दीमा २० रोपनी जमिनमा व्यावसायिक रायो सागखेती गरिएको छ ।

किसानले उत्पादन गरेका कृषि उपज बिक्री सहजका लागि गाउँपालिकाले हाटबजारको व्यवस्था मिलाएपछि यहाँका किसान व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित भएका हुन् । स्थानीय सङ्गिता गुरुङ, टीकामाया गुरुङ, आइतमाया गुरुङ, लक्ष्मण गुरुङ लगायकाले प्रत्येकले दुई÷तीन रोपनीका दरले साग खेती गरेका हुन् । गाउँपालिकाले किसानलाई थप हौसला प्रदान गर्न उत्पादनको आधारमा प्रतिकिलो २५ रुपैयाँ अनुदानको व्यवस्था गरेको आँबुखैरेनी कृषि शाखा प्रमुख सन्तोष केसीले जानकारी दिए ।

उनका अनुसार छिम्केश्वरीका किसानले उत्पादन गरेका कृषिउपज हाटबजारसम्म ल्याउन ढुवानीको समेत व्यवस्था गरिदिएको छ । दिनमा दुई सय पचासदेखि तीन मुठासम्म साग बिक्रीका लागि ल्याउने गरिएको उनले बताए ।

यहाँ उत्पादित सागप्रति मुठा एक सय रुपैयाँमा बिक्री हुने गरेको छ । नाङ्गलो जस्ता सागको पात देख्दा उपभोक्ता किन्नका लागि भीड नै लाग्ने गर्दछन् । यहाँ उत्पादित साग रसिला र मीठो पनि उत्तिकै हुने भएकाले उपभोक्ताको रोजाइमा साग पर्ने गरेको छ ।

जलवायु परिवर्तनको असरका कारण कीराको प्रकोप हुँदा सागका पात खाने समस्या भएको छ, उनले भने, ‘जलवायु मैत्री कृषि प्रविधितर्फ गाउँपालिकालाई उन्मुख गराउने योजना बनाइएको छ ।’ जैविक विषादी निमजन्य विषादी कृषि शाखाले निःशुल्क रुपमा किसानलाई उपलव्ध गराउँदै आएको गाउँपालिकाले जनाएको छ ।

अघिल्लो वर्ष सागलगायतका तरकारी बिक्री गरेर एक किसानले ५०÷६० हजारसम्म आम्दानी गर्न सफल भए पनि यसवर्ष कीराको प्रकोपका कारण आम्दानी घट्ने देखिएको कृषि शाखा प्रमुख केसीले बताए ।

गाउँपालिकाले ४० लाख रुपैयाँको लागतमा वार्षिक दुई लाख ५० हजार भाडा बुझाउने गरी जग्गा भाडामा लिएर दुई वर्षदेखि आँबुखैरेनी बजार क्षेत्रमा हाटबजार सञ्चालनमा ल्याएको हो । गाउँपालिकामा उत्पादित बाँसजन्य सामग्रीका साथै मह,घीउ, दही, पनिर, बेसार, अदुवा, अकबरे खुर्सानी, मकै, भटमास, स्कुस, बरेला, बोडी, च्याउ र बेमौसमी केराउ लगायतका कृषि उपज बिक्री वितरणमा सहज भएको छ ।

व्यावसायिक रुपमा यहाँका स्थानीयले तरकारी लगायतका कृषि उपज उत्पादन गर्न थालेपछि महिला आयआर्जनमासमेत सबल बन्दै गएको वडाध्यक्ष सन्तोष गुरुङले बताए । यहाँ उत्पादित कृषिउपज तल बेंसीमा रहेको हाटबजारसम्म लगेर बिक्री वितरण गर्ने व्यवस्था मिलाइएपछि किसान उत्साहित भएर उत्पादनमा लागेका उनले जानकारी दिए ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal