काठमाडौं । ग्रेटर नेपाल अभियान चलाइरहेका फणिन्द्र नेपाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । शान्ति सुरक्षा कायम गर्ने सिलसिलामा आवश्यकता देखिएपछि नेपाललाई शान्तिनगरबाट नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसर, भद्रकालीका एसपी नवराज अधिकारीले बताए । उनका अनुसार, नेपाललाई तत्काललाई होल्ड मात्र गरिएको हो ।
अहिले भारतीय सेना प्रमुख उपेन्द्र द्विवेदी नेपाल भ्रमणमा छन् । यस्तोमा ग्रेटर नेपालको अभियान चलाइरहेका उनले कालो झण्डा देखाउने तथा विरोध प्रदर्शन गर्न सक्ने सम्भावना रहेको भन्दै प्रहरीले उनलाई निगरानीमा राखेको थियो ।
भारतबाट हुने हरेकजसो औपचारिक भ्रमणमा नेपालले विरोध जनाउने गरेका छन् । त्यसक्रममा उनी पटकपटक पक्राउ पर्ने गरेका छन् । केही वर्ष पहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउनुअगाडि उनलाई प्रहरीले निवासबाहिरबाटै पक्राउ गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्