काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक दोहोरो अंकले घटेर बन्द भयो । उच्च अंकले बजार घटे पनि दुई कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । आज सामुदायिक लघुवित्त वित्तीय संस्था र थ्री स्टार हायड्रोपार लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
आजको कारोबार बन्द हुँदा सामुदायिक लघुवित्तको सेयर मूल्य १५० रुपैयाँ १० पैसाले बढेर १ हजार ६५१ रुपैयाँ १० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले धेरै हो । त्यस्तै थ्रीस्टार हाइड्रोको सेयर मूल्य पनि १० प्रतिशत अर्थात् ८८ रुपैयाँ ५० पैसाले बढेर ९७३ रुपैयाँ ५० पैसा पुगेको छ । कुनै पनि कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि भएको खण्डमा सकारात्मक र १० प्रतिशत नै गिरावट भएको अवस्थामा नकारात्मक सर्किट लागेर कारोबार बन्द हुने गर्छ ।
त्यस्तै आज धेरै मूल्य बढ्ने शीर्ष पाँच कम्पनीमा महुली लघुवित्त, धौलागिरि लघुवित्त र रिभर फल्स पावर रहेका छन् । आजको कारोबार बन्द हुँदा महुली लघुवित्तको सेयर मूल्य पनि ६.११ प्रतिशत अर्थात् १०६ रुपैयाँले बढेर १ हजार ८४१ रुपैयाँ पुगेको छ । त्यस्तै आज धौलागिरि लघुवित्तको सेयर मूल्य पनि ९० रुपैयाँले बढेर प्रतिकित्ता १ हजार ७३० रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ५.४९ प्रतिशत बढी हो । रिफर फल्सको सेयर मूल्य पनि आज ५.३३ प्रतिशत अर्थात् ४२ रुपैयाँ १० पैसाले बढेर ८३२ रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्