काठमाडौं । शुक्रबार मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कन्ट्री रेटिङले नेपालका लागि अनुकूल नतिजा ल्याएको बताए । बिहीबार नेपालले पहिलो पटक गरेको कन्ट्री रेटिङको नतिजा सार्वजनिक भएपछि शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै अर्थमन्त्रीले पौडेलले निकै उत्साहीत हुँदै नेपालमा लगानी आकर्षित गर्नमा यो रेटिङले सहयोग पुग्ने बताए ।
‘सार्वभौम क्रेडिट रेटिङ सबै नेपालीका लागि खुसीको नतिजा हो । नेपालमा लगानी गर्न विश्वभरका लगानीकर्तालाई समेत यहाँबाछ आह्वान गर्दछु,’ उनले भने, ‘यो गौरवको विषय हो, हामी यो नतिजामाथि उभिएर नेपालको अर्थतन्त्रलाई सवल, शक्तिशाली र लगानीका लागि अझ अनुकूल बनाउन भूमिका खेल्ने छौं ।’
नेपालले सार्वभौम क्रेडिट रेटिङमा ‘बीबी माइनस’ स्कोर प्राप्त गर्न सफल भएको छ । नेपालले प्राप्त गरेको रेटिङले नेपालको अर्थतन्त्रको संरचना, सार्वजनिक वित्त परिचालन र समष्टिगत आर्थिक तथा वित्तीय अवस्था लगानी मैत्री र उन्नत रहेको संकेत गरेको अर्थमन्त्रीले बताए ।
अर्थसचिव डा. राम प्रसाद घिमिरेले क्रेडिट रेटिङले राम्रो नतिजा दिएको अवस्थामा ऋणमा ‘रिक्स प्रिमियम’ कम हुने जानकारी दिए । यसले हामी कहाँ छौं भन्ने थाहा भएको र व्यवसायिक वातावरणका लागि ‘कन्फिडेन्स’ बढाउन समेत भूमिका खेल्ने उनले बताए । रेटिङमार्फत सुधारका क्षेत्र पहिचान भएको भन्दै त्यसमा उत्प्रेरित हुन सहयोग पुगेको उनको भनाइ थियो । ‘यो हाम्रो सुरुवात हो, निरन्तर रुपमा सुधार गर्न उत्प्रेरणा दिएको छ, हामी आगामी दिनमा त्यसतर्फ निरन्तर लाग्छौं,’ उनले भने ।
नेपालले सार्वभौम क्रेडिट रेटिङमा बीबी माइनस स्कोर प्राप्त गर्न सफल भएको छ । नेपालले प्राप्त गरेको रेटिङले नेपालको अर्थतन्त्रको संरचना, सार्वजनिक वित्त परिचालन र समष्टिगत आर्थिक तथा वित्तीय अवस्था लगानी मैत्री र उन्नत रहेको संकेत गरेको छ । सार्वभौम क्रेडिट रेटिङमा मूलतः अर्थतन्त्रका चार क्षेत्रहरू अर्थतन्त्रको संरचनागत पक्ष, समष्टिगत आर्थिक उपलब्धि, सार्वजनिक वित्त र बाह्य क्षेत्रका आर्थिक परिसूचकको विस्तृत रूपमा लेखाजोखा गर्ने गरिन्छ । मुलुकको सार्वभौम क्रेडिट रेटिङ गर्दा यस्ता पक्षहरूलाई विभिन्न सार्वभौम रेटिङ मोडल र गुणात्मक मापन विधिबाट स्वतन्त्र रूपमा मूल्यांकन गरी प्राप्त स्कोरलाई न्यूनतम डी देखि अधिकतम एएए सम्म रेटिङ प्रदान गर्ने गरिन्छ ।
एएए रेटिङले ले मुलुकको उच्च क्रेडिट क्षमता रहेको देखाउँदछ भने डी रेटिङले डिफिकल्टको अवस्थालाई ईंगित गर्दछ । उक्त प्रक्रिया बमोजिम फच रेटिङले नेपालको आर्थिक संरचना, सार्वजनिक वित्तको अवस्था, आन्तरिक तथा वैदेशिक ऋणको अवस्था, मौद्रिक तथा वित्तीय क्षेत्रका सूचकहरूको अवस्था, बाह्य क्षेत्रका आर्थिक परिसूचकहरू, सोह्रौँ योजनाले परिलक्षित गरेका आर्थिक वृद्धिको मध्यकालिन तथा दीर्घकालीन खाका लगायतका विवरण र तथ्यांकको विश्लेषण गरेको थियो ।
यसले अर्थतन्त्रको भावी दिशा र सम्भावनाको आंकलन गर्दै मुलुकले भविष्यमा आफ्नो ऋण दायित्व पूर्णरुपमा र समयमै भुक्तानी गर्न सक्ने क्षमताको मापन गर्दछ । क्रेडिट रेटिङको नतिजालाई दक्षिण एसियाली मुलुकहरूको रेटिङ नतिजासँग तुलना गर्दा नेपालले प्राप्त गरेको रेटिङ भारत पछि दोस्रो हो । यसले सरकार, निजी क्षेत्र र सम्पूर्ण लगानीकर्ताहरूको लागि उत्साह सिर्जना गरेको अर्थमन्त्री पौडेलको भनाइ छ ।
यो रेटिङबाट प्राप्त गरेको नतिजाले नेपाल लगानीको लागि सहज वातावरण भएको स्थापित गरेकोले विदेशी लगानीकर्ताको विश्वास अभिवृद्धि हुन गई भावी दिनमा नेपालको पूर्वाधार, पर्यटन, कृषि, सेवा लगायतका क्षेत्रका ठूला आयोजनाहरूमा लगानी अभिवृद्धि हुने अपेक्षा गरिएको अर्थमन्त्रीको भनाइ छ ।
अर्थमन्त्री लागयत सरकारी निकाय अहिले जति उत्साहीत भएको अवस्था छ । यो उत्साहको अवस्थाले राज्यलाई के कति फाइदा पुग्छ वा विदेशी लगानीकर्ताहरु नेपालमा लगानी गर्नका लागि उत्साहीत भएर आउलान ? यो भने भविष्यले देखाउने नै छ ।
रेटिङले नेपालको अर्थतन्त्र स्थिर रहेको देखिएको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले बताए । ‘हिजो मात्रै सार्वजनिक भएको नेपालको पहिलो क्रेडिट रेटिंगले बीबी माइनस देखाएको छ, जसले अर्थतन्त्र अहिले स्थिर भए पनि सानो झटकाले जोखिम बढाउन सक्छ,’ उनले भने । अहिले नेपालको अर्थतन्त्र निराशाजनक नभएको र सुधारको सम्भावना रहेको उनको भनाइ छ । रेटिङले नेपालमा लगानी गर्न चाहने लगानीकर्ताहरूका लागि सकारात्मक सन्देश दिएको उनको भनले बताए ।
के हो कन्ट्री रेटिङ ?
सार्वभौम क्रेडिट रेटिङ (कन्ट्री रेटिङ) पनि कम्पनीहरुको क्रेडिट रेटिङ गरेजस्तै हो, तर यो भने कुनै मुलुक वा सार्वभौम निकायको मात्रै गरिन्छ । सार्वभौम रेटिङले कुनै मुलुकको ऋणपत्रमा लगानी गर्दा आउनसक्ने जोखिमहरुबारे जानकारी दिन्छ, त्यसमा राजनीतिक जोखिम पनि पर्छ ।
कुनै देशको अनुरोधमा क्रेडिट रेटिङ एजेन्सीले त्यो मुलुकको आर्थिक तथा राजनीतिक वातावरणको स्वतन्त्र मूल्यांकन गर्छ र त्यसलाई रेटिङ प्रदान गर्छ । त्यति मात्रै होइन, विदेशी लगानीकर्ताहरुले कुनै मुलुकमा लगानी गर्नु कत्तिको सुरक्षित छ भनेर मूल्यांकन गर्न त्यो मुलुकको कन्ट्री रेटिङलाई हेर्ने गर्छन् । जति खराब रेटिङ हुँदै गयो, त्यस्तो मुलुकले ऋण फिर्ता गर्न नसक्ने जोखिम बढी हुने वा लगानीको वातावरण खराब हुने मानिन्छ ।
प्रतिक्रिया दिनुहोस्