एजेन्सी । स्पेनले पाँच बजेट एयरलाइन्सलाई ह्यान्ड लगेज र शुल्कसम्बन्धी गलत अभ्यास अपनाएको दाबी गर्र्दै एक सय ७९ मिलियन यूरो अर्थात् २५ अर्ब रुपैयाँ जरिवाना गरेको छ । जसमध्ये रायनएयरलाई सबैभन्दा धेरै एक सय आठ मिलियन यूरो जरिवाना गरिएको छ। साथै इजिजेटलाई २९ मिलियन युरो जरिवाना गरिएको छ ।
वुएलिङ, नर्वेजियन र भोलोटियालाई शुक्रबार स्पेनको उपभोक्ता अधिकार मन्त्रालयले कारबाही गरेको हो । मन्त्रालयले ह्यान्ड लगेज र बालबालिकाका लागि सिट आरक्षणजस्ता कार्यहरूमा थप शुल्क लगाउने अभ्यासलाई प्रतिबन्धित गर्ने योजना बनाएको जनाएको छ ।
यी जरिवाना मन्त्रालयले जारी गरेका सबैभन्दा ठूलो कारबाही हुन् । मन्त्रालयले मे महिनामा पहिलोपटक घोषणा गरिएका जरिवाना अपिललाई खारेज गरेपछि यसलाई कायम गरेको हो ।
ब्रिटिश एयरवेजका मालिक आईएजीको बजेट शाखा वुएलिङलाई ३९ मिलियन यूरो जरिवाना गरिएको छ जबकि नर्वेजियन एयरलाइन्स र भोलोटियालाई क्रमशः १.६ मिलियन यूरो र १.२ मिलियन यूरो जरिवाना गरिएको छ ।
एयरलाइन्सहरूले भ्रामक जानकारी प्रदान गरेको र मूल्यहरूको स्पष्टता नभएको पाइएकाले उपभोक्ताहरूले प्रस्तावहरूको तुलना गर्न र सही निर्णय लिन नसक्ने अवस्था सिर्जना गरेको मन्त्रालयले जनाएको छ ।
रायनएयरलाई ठूलो ह्यान्ड लगेज, सिट चयनका लागि शुल्क लिने र विमानस्थलमा बोर्डिङ पास प्रिन्ट गर्न अस्वभाविक रकम लिनेलगायत उपभोक्ता अधिकारको उल्लङ्घन गरेको आरोप लगाइएको छ । प्रत्येक जरिवाना एयरलाइन्सहरूले यी अभ्यासबाट प्राप्त गरेको अवैध नाफाका आधारमा गणना गरिएको हो ।
रायनएयरका प्रमुख माइकल ओ लिरीले जरिवाना अवैध र निराधार भएको भन्दै यसको अपिल गर्ने र यसलाई युरोपेली संघको अदालतसम्म लैजाने बताएका छन् । “रायनएयरले धेरै वर्षदेखि झोलाको शुल्क र विमानस्थल चेक–इन शुल्कलाई यात्रुहरूको व्यवहार परिवर्तन गर्न प्रयोग गर्दै आएको छ, जसले उपभोक्ताहरूलाई कम शुल्कमा टिकट उपलब्ध गराउन मद्दत गर्छ”, उनले भने ।
इजिजेट र नर्वेजियनले पनि यस निर्णयलाई अपिल गर्ने बताएका छन् । स्पेनको एयरलाइन उद्योग पर्यवेक्षक एएलएले मन्त्रालयको निर्णयलाई अर्थहीन भन्दै थप अपिल गर्ने र यो जरिवानाले ईयूको स्वतन्त्र बजार नियमहरूको उल्लङ्घन गरेको बताएको छ ।
तर मन्त्रालयका उपभोक्ता मामिला र जुवा सचिव आन्द्रेस बार्रागानले जरिवानाको बचाउ गर्दै सरकारको निर्णय स्पेन र ईयू कानुनमा आधारित भएको बताएका छन् । “विमानस्थलमा बोर्डिङ पास छाप्नका लागि २० यूरो शुल्क लिनु गलत हो”, उनले बीबीसीको वर्ल्ड बिजनेस रिपोर्ट कार्यक्रममा भनेका छन् । यो समस्या स्पेनमा मात्र नभइ युरोपका अन्य देशमा पनि भइरहेको बताइएको छ । छ वर्षदेखि विमान कम्पनीहरुले लिने शुल्कको विरोध गर्दै आएको उपभोक्ता अधिकार संघ फाक्वाले यो निर्णयलाई ऐतिहासिक भनेको छ ।
प्रतिक्रिया दिनुहोस्