काठमाडौं । चालु आर्थिक वर्षको पहिलो चौमासिकसम्मा नेपालमा ३ हजार भन्दा बढी विद्युतीय सवारी (ईभी) आयात भएका छन् । भन्सार विभाको तथ्यांक अनुसार चालु आवको पहिलो चार महिनाको अवधिमा विभिन्न देशबाट ३ हजार ४८७ वटा ईभी आयात भएका हुन् ।
विभागको तथ्यांक अनुसार यो अवधिमा ईभी कार, जीप र भ्यान मात्रै उक्त संख्यामा नेपाल भित्रिएका हुन् । नेपाल भित्रिएका अधिकांश ईभी चीन बाट आयात भएको तथ्यांकले देखाएको छ । ३ हजार ४८७ वटामध्ये चीनबाट मात्रै २ हजार ५१० वटा ईभी आयात भएको देखिएको छ । यो कुल ईभी आयातको ७१.९८ प्रतिशत हो । चीन बाट नेपाल आयात भएका अधिकांश ईभी गाडीहरु ५१ देखि १०० किलोवाट क्षमताका रहेका छन् ।
चीनपछि नेपालमा विद्युतीय गाडी आयातको ठूलो हिस्सा भारतको छ । भारतबाट यो अवधिमा ९६९ वटा ईभी गाडी आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । भारतबाट आयात भएका ईभी गाडीमध्ये अधिकांश १०० किलोवाटसम्मका क्षमताका छन् । त्यस्तै, जर्मनीबाट ६ र अमेरिकाबाट २ वटा गाडी आयात भएका छन् । जर्मनीबाट आयात भएका ६ गाडीमध्ये ४ वटा १०१ देखि २०० किलोवाट क्षमताका छन् भने २ वटा २०१ देखि ३०० किलोवाट क्षमताका छन् । अमेरिकाबाट आयात गरिएका २ गाडी १०१ देखि २०० किलोवाट क्षमताका रहेका छन् । भन्सार विभागले क्षमताका आधारमा पनि विद्युतीय गाडीहरूको विवरण सार्वजनिक गरेको छ ।
भन्सार विभागको तथ्यांक अनुसार चार महिनाको अवधिमा ५० किलोवाटसम्मका १ हजार ४० वटा गाडी आयात भएका छन् । त्यस्तै ५१ देखि १०० किलोवाटसम्म क्षमता भएका २ हजार ११५ वटा गाडी र १०१ देखि २०० किलोवाट क्षमता भएका ३१६ वटा गाडी आयात भएका छन् । त्यस्तै २०१ देखि ३०० किलोवाटसम्म क्षमता भएका ६ वटा गाडी नेपाल भित्रिएका छन् ।
यस अवधिमा विद्युतीय गाडी आयातबाट सरकारले ५ अर्ब १९ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । ईभी गाडीहरूमा अपेक्षाकृत कम करदर लाग्ने भए पनि उच्च आयातका कारण राजस्व संकलन उल्लेखनीय देखिएको छ । हालका तथ्यांकहरूले नेपालमा विद्युतीय गाडीको उपयोग बढ्दै गएको देखाउँछ । तथापि, देशभर चार्जिङ स्टेसनहरूको अभाव र दीर्घकालीन नीति निर्माणमा कमजोरीले यस क्षेत्रको प्रगतिमा अवरोध पुर्याउने जोखिम छ ।
प्रतिक्रिया दिनुहोस्