Skip to content
Prabhu

बैंकहरूलाई चुनौतीपूर्ण बन्दै एनपीएल व्यवस्थापन

nabil

काठमाडौं । पछिल्लो समय बैंकिङ क्षेत्रमा निष्क्रिय कर्जा (एनपीएल)को व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । देशमा लगानीको वातावरण बन्न नसक्दा नयाँ कर्जाको माग बढ्न सकिरहेको छैन । विगतमा प्रवाह भएको कर्जाको साँवाब्याज पनि नियमित उठाउन नसक्दा बैंकहरूको निष्क्रिय कर्जा निरन्तर बढ्दै गएको हो ।

अर्थतन्त्रमा देखिएको सुस्तताकै कारण कर्जा असुली चुनौतीपूर्ण बन्दै गएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांअनुसार पछिल्लो दुई आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाहरूको निष्क्रिय कर्जाको ग्राफ निरन्तर उकालो लागेको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमासिकसम्म बैंक तथा वित्तीय संस्थाहरूले ६६ खर्ब ६२ अर्ब २६ करोड २० लाख रुपैयाँ निक्षेप संकलन गरेका छन् । यो अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले ५२ खर्ब ८७ अर्ब ९७ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

जसमध्ये औसत ४.४२ प्रतिशत निष्क्रिय कर्जा छ । गत आर्थिक वर्षको पहिलो त्रैमाससम्म बैंकहरूले ५९ खर्ब १४ अर्ब ३४ करोड ७० लाख रुपैयाँ निक्षेप संकलन गर्दा ४९ खर्ब ९३ अर्ब ९२ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । गत आवको पहिलो त्रैमासिकसम्म बैंकहरुको निष्क्रिय कर्जा औसतमा ३.६६ प्रतिशत रहेको थियो ।

चालु आर्थिके वर्षको पहिलो त्रैमासिकसम्म वाणिज्य बैंकहरूले ५९ खर्ब २५ अर्ब ७३ करोड ४० लाख रुपैयाँ निक्षेप संकलन गरी ४६ खर्ब ७३ अर्ब ७२ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा औसत ४.२८ प्रतिशत निष्क्रिय कर्जा रहेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमाससम्म निक्षेप संकलन ५२ खर्ब २१ अर्ब ८४ करोड ३० लाख रुपैयाँ र कर्जा प्रवाह ४४ खर्ब १८ अर्ब ९९ करोड १० लाख रुपैयाँ थियो । गतवर्ष निष्क्रिय कर्जा औसतमा ३.६१ प्रतिशत थियो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्म विकास बैंकहरूको निष्क्रिय कर्जा ४.३७ प्रतिशत छ । यो अवधिसम्म विकास बैंकहरूले ६ खर्ब २ अर्ब ७ करोड ८० लाख रुपैयाँ निक्षेप संकलन गरेका छन् । विकास बैंकहरुले ५ खर्ब ११ अर्ब ५४ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिमा विकास बैंकहरूले ५ खर्ब ७७ अर्ब ६७ करोड ५० लाख रुपैयाँ निक्षेप संकलन गर्दा ४ खर्ब ८१ अर्ब ५८ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । गत वर्ष निष्क्रिय कर्जा औसतमा ३.१९ प्रतिशत रहेको थियो ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा फाइनान्स कम्पनीहरूको निष्क्रिय कर्जा १०.८४ प्रतिशत पुगेको छ । फाइनान्स कम्पनीहरुले पहिलो त्रैमासिकसम्म १ खर्ब ३३ अर्ब ७४ करोड ८० लाख रुपैयाँ निक्षेप संकलन गरेका छन् । यो अवधिमा फाइनान्सको कर्जा प्रवाह १ खर्ब २ अर्ब ७१ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिमा भने फाइनान्स कम्पनीहरूले १ खर्ब १४ अर्ब ८२ करोड ८० लाख रुपैयाँ निक्षेप संकलन गर्दा ९३ अर्ब ३५ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । जसमध्ये औसत ८.३७ प्रतिशत निष्क्रिय कर्जा थियो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal