काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले हिउँ चितुवा संरक्षणमा लगानी बढाउनुपर्नेमा जोड दिएका छन् । आज हिउँ चितुवाको संरक्षण तथा यसको अध्ययन र अनुसन्धानमा प्रवर्द्धन गर्ने उद्देश्यले यहाँ आयोेजित गोष्ठीमा उनले हिउँ चितुवा दुर्लभ बन्दै गइरहेकाले यसको संरक्षणका लागि लगानी बढाउनुपर्ने बताए ।
मन्त्री शाहीले नेपालमा हिउँ चितुवाको बसोबास क्षेत्र, उसको बानी व्यवहार र संरक्षण रणनीतिका बारेमा गहन अनुसन्धान गर्दै लगानी गर्नुपर्ने अवस्था रहेको उल्लेख गरे । उनका अनुसार हिउँ चितुवा संरक्षण सफल बनाउन र द्वन्द्व कम गराउन संरक्षणमा स्थानीय समुदायको सहभागिता सुनिश्चित हुनुपर्ने देखिन्छ ।
‘सङ्घीय सरकारले हिउँ चितुवासहित अन्य जीव संरक्षणका लागि स्थानीय साझेदारी आवश्यक पर्ने निष्कर्ष निकाल्दै समुदायसँग मिलेर संरक्षणका काम गर्नेगरि कार्ययोजना बनाएका छौँ । हालै हिउँ चितुवा संरक्षण कार्ययोजना २०२४–२०३० जारी गरेका छौँ’ मन्त्री शाहीले भने । कार्ययोजनामा यो प्रजातिको संरक्षणका लागि गरिनुपर्ने कार्य, भावी रणनीति, कार्यनीति र क्षमता अभिवृद्धि, बासस्थान सुधारलगायत विषय समावेश गरिएको उहाँले जानकारी दिए ।
‘हिउँ चितुवाको संरक्षण गर्नु भनेको केवल वन्यजन्तु संरक्षणमात्र नभई जलवायु परिवर्तनको चुनौती सामना गर्न, हिमाली पर्यावरणीय प्रणालीलाई सुदृढ बनाउन स्थानीय समुदायको जीवनस्तर सुधार गर्न पनि मद्दत गर्छ’, मन्त्री शाहीले भने । नेपालको हिमाली क्षेत्र जैविक विविधतामा धनी रहेको उल्लेख गर्दै उनले वनस्पतिमा यार्सागुम्बा, चरामा डाँफेदेखि वन्यजन्तुमा हिउँ चितुवासम्म नेपालका हिमाली भेगमा पाइने जानकारी दिए ।
‘तराईमा बाघ र हिमालमा हिउँ चितुवा हाम्रो पहिचान झल्काउने सूचक हुन् । हिमालको सांस्कृतिक, पर्यावरणीय र जैविक सम्पत्तिका रूपमा हिउँ चितुवालाई लिइँदै आएको छ । बासस्थान विनाश, चोरी शिकारी, मानवसँगको द्वन्द्व, जलवायु परिवर्तन यसका शत्रु बनेका छन्’, वनमन्त्री शाहीले भने, ‘हिमाली क्षेत्रमा हिउँ चितुवाले घरमा पालेका भेडा, गाईवस्तु तथा पशुचौपाया खाएका विषय आइरहेका हुन्छन् । यसले मानवसँगको द्वन्द्व बढाएको छ । सङ्घीय सरकारले विभिन्न समयमा यस्ता समस्या सम्बोधन गर्न नीति तथा योजना तर्जुमा गर्दै आएको छ ।’
मन्त्री शाहीले संसारकै दुर्लभ प्रजातिभित्र पर्ने हिउँ चितुवा नेपाल र चीनसहित विश्वका १२ मुलुकमा पाइने जनाउँदै विश्वमा पाइने हिउँ चितुवामध्ये नेपालमा १० प्रतिशत पाइने आनुमान गरिएको बताए । उनका अनुसार यसको बासस्थान नेपालको ३० हजार वर्गकिलोमिटर अनुमान गरिएकामा ५८ प्रतिशत संरक्षित क्षेत्रभित्र पर्छन् ।
नेपाल सरकारले हिउँ चितुवा संरक्षणका लागि विभिन्न प्रयास गर्दै आएको छ । सन् २०१५ लाई हिउँ चितुवा संरक्षण वर्ष भनेर घोषणा गरी संरक्षित जीवको सूचिमा राखिएको छ । निकुञ्ज ऐनले पनि यसको चोरी शिकारीमा बन्देज लगाएको छ ।
‘आफू हिउँ चितुवाको बासस्थान भएको जिल्ला मुगुवासी भएकाले यो कार्यशालाबाट प्राप्त सिकाइ हिउँ चितुवा संरक्षणमा टेवा पुग्ने विश्वास छ । नेपाल र छिमेकी मुलुक चीनका वैज्ञानिकबीच अनुसन्धानात्मक सहकार्यलाई अझ सुदृढ गर्न यो कार्यशाला महत्वपूर्ण हुने विश्वास लिएको छु’, मन्त्री शाहीले भने ।
हिमालय पर्वतीय श्रृङ्खलाको संरक्षण गर्न एउटा देशले मात्रै नभएर अन्तरदेशीय सहकार्य आवश्यक रहेकामा जोड दिँदै उहाँले यस किसिमको सहकार्यले अनुसन्धान प्रवर्द्धन गर्ने धारणा राखे।
प्रतिक्रिया दिनुहोस्