काठमाडौं । मार्ग शीर्ष कृष्ण चतुर्दशीका अवसरमा पशुपति क्षेत्रमा लागेको बालाचतुर्दशी मेलामा जम्मा भएको फोहर सङ्कलन गरी व्यवस्थापन गरिएको छ ।
बालाचतुर्दशीका अवसरमा देशका विभिन्न भागबाट आएका भक्तजनले पशुपति क्षेत्रका विभिन्न स्थानमा शतबीज छर्ने क्रममा भएको फोहोर उठाउन थालिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । पशुपतिनाथ मूल मन्दिर क्षेत्रमा भने आजै सफाइ गरिसकिएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले राससलाई जानकारी दिए । अन्य क्षेत्रमा भने क्रमशः सफाइ गरिने उनले बताए ।
मेलाका क्रममा कोषले प्लाष्टिकलगायत फोहर नल्याउन भक्तजनलाई आग्रह गरेको थियो । शतबीज छरिसकेपछि प्लाष्टिकलगायत फोहर भक्तजन आफैँले व्यवस्थापन नगरी कोष परिसरमै फालिदिँदा पशुपति क्षेत्रमा फोहर जम्मा भएको थियो । उक्त फोहरलाई कुहिने र नकुहिनेमा छुट्याएर व्यवस्थापन गरिने प्रवक्ता अधिकारीले जानकारी दिए।






प्रतिक्रिया दिनुहोस्