Skip to content
Prabhu

बिबिसीको सेयर मूल्यमा सरकारले नै दिइरहेको छ चलखेलको मौका, सातामै २४ सय बढीले वृद्धि

nabil

काठमाडौं । सेयर बजारमा पछिल्ला दिनहरुमा कमजोर वित्तीय अवस्था भएका र खराब अवस्थामा रहेका कम्पनीहरुको सेयर मूल्य बढिरहेको छ । पछिल्ला केही दिनहरुमा बिशालबजार कम्पनी (बिबिसी), कर्णाली डेभलपमेन्ट बैंक, विन नेपाल लघुवित्त लगायतका कम्पनीको सेयर मूल्य बढिरहेको छ । दोस्रो बजारमा सेयर मूल्य बढी रहेका यी कम्पनीको वित्तीय अवस्था निकै कमजोर देखिन्छ ।

केही दिनअघि राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई नयाँ निक्षेप संकलन र कर्जा प्रवाह गर्न नपाउने गरी सचेत गराएको थियो । तर, यो कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि भएर सर्किट लागेको थियो ।

त्यस्तै अहिले पछिल्ला केही दिनमा लगातार रूपमा सकारात्मक सर्किट लागिरहेको अर्को कम्पनी हो बिबिसी । यो कम्पनीको सेयर मूल्य सोमबार पनि १० प्रतिशतले बढेर कारोबार भएको छ । अघिल्लो दिन आइतबार पनि यो कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको नै वृद्धि भएको थियो ।

तर, यो कम्पनीको अवस्था भने अहिलेसम्म गुनाम नै छ । यो कम्पनीको आर्थिक अवस्था के हो ? भन्ने विषय आम रूपमा कसैलाई पनि जानकारी छैन । यो कम्पनीले २०७७/७८ सालदेखि यो कम्पनीले आफ्नो वार्षिक साधारणसभा पनि गर्न सकेको छैन । यो कम्पनीको वित्तीय अवस्था के हो भन्ने विषयमा कसैलाई पनि थाहा छैन । तर, पनि कम्पनीको सेयर मूल्यमा भने दिनप्रतिदिन उछाला आइरहेको छ ।

पछिल्लो एक साताको अवधिमा मात्रै यो कम्पनीको सेयर मूल्यमा २ हजार ४ सय १२ रुपैयाँ ४ पैसाको वृद्धि भएको छ । अघिल्लो सोमबारको कारोबार दिन यो कम्पनीको सेयर मूल्य ४ हजार १७६ रुपैयाँ रहेको थियो । आज (सोमबार) को कारोबार बन्द हुँदा कम्पनीको सेयर मूल्य ६ हजार ५ सय ८८ रुपैयाँ ४० पैसा पुगेको छ । एक साताको अन्तरमा २ हजारभन्दा बढीले सेयर मूल्य बढेको कम्पनीको वित्तीय अवस्था भने के हो भन्ने कसैलाई पनि जानकारी छैन ।

४ करोड १ लाख कित्ता सेयर रहेको यो कम्पनीको पब्लिक सेयर भने ४ लाख १८ हजार ९६७ कित्ता रहेको छ । जुन जम्मा सेयरको १.०४ प्रतिशत हो । कम्पनीको ३ करोड ९६ लाख ८१ हजार ३३ कित्ता सेयर भने पमोटर सेयर रहेको छ । त्यसमध्ये ९८.७७ प्रतिशत सेयर सरकारको स्वामित्वमा रहेको छ । अधिकांश सरकारी स्वामित्वमा रहेको कम्पनीको वित्तीय अवस्था जानकारी नहुँदा सरकारले नै यो कम्पनीमा चलखेल गर्न दिएको अनुमान गर्न गाह्रो छैन ।

बिबिसीको विषयमा बजारमा अहिले चर्चा भइरहेको र धितोपत्र बोर्डले पनि सूक्ष्म रूपमा निगरानी गरिरहेको नेपाल धितोपत्र बोर्डका प्रवक्ता निरञ्जन घिमिरेले लगानी न्युजलाई जानकारी दिए । ‘अहिले यो कम्पनीको विषयमा धेरै कुराहरु आइरहेका छन् । नियामकका रूपमा हामीहरुले पनि सूक्ष्म रूपमा हेरिरहेका छौँ,’ उनले भने ।

समस्याग्रस्थ कम्पनीलमा लगानी गर्दा आम लगानीकर्ताहरुले बुझेर लगानी गर्नु पर्ने अवस्था देखिन्छ । बजारको हल्लाको पछि लाग्दा लगानीकर्ताको बिचल्ली हुन सक्छ ।

बिबिसीले पछिल्लो समय सार्वजनिक गरेको वित्तीय विवरणअनुसार कम्पनीको ईपीएस जम्मा ३ रुपैयाँ रहेको थियो । त्यसपछि यो कम्पनीको कुनै पनि वित्तीय विवरण प्रकाशित भएको छैन भने साधारणसभा पनि हुन सकेको छैन ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal