काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीको कार्यकाल पुस महिनामा सकिने भएको छ । दुई वर्ष अगाडि बैंकर्स संघको अध्यक्ष बनेका केसीले तरलताको तीव्र उतारचढावमा आफ्नो कार्यकाल करिब पूरा गरेका छन् ।
दुई वर्ष अगाडि केसी बैंकर्स संघको अध्यक्ष बन्दा बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएको कारण सडकदेखि सदनसम्म विरोध भएको थियो ।
अराजक व्यवसायी दुर्गा प्रसाईंको कारण बैंक तथा वित्तीय संस्थामा काम गर्ने कर्मचारीको सुरक्षासमेत जोखिममा परेको थियो । कार्यकाल पूरा हुँदै गर्दा ब्याजदर सस्तो भएको र ब्याजदरको कारण झेल्नुपर्ने दबाब सकिएको केसीको अनुभव छ ।
पुसमा बैंकर्स संघले साधारणसभा गर्न लागेको छ । यो पटकको साधारणसभाले दुई वर्षको लागि नयाँ नेतृत्व चयन गर्ने छ । संघमा उपाध्यक्ष बैंकको सीईओ कायम भएको बेला अध्यक्ष बन्ने प्रचलन छ । अहिलेको कार्यसमितिका उपाध्यक्ष सन्तोष कोइराला संघको पुसदेखि अध्यक्ष बन्ने करिब पक्कापक्की जस्तै रहेको छ ।
कोइरालाले पनि विगतकै प्रचलन अनुसार अध्यक्ष बन्नको लागि आफू तयार भएको जानकारी सदस्यहरुलाई दिएका छन् । संघमा विगतमा एकपटक मात्र अध्यक्षको लागि निर्वाचन भएको थियो । शशिन जोशी अध्यक्षमा दोहरिन खोजेपछि अशोक राणा र जोशीबीच प्रतिस्पर्धा भएको थियो । निर्वाचन हिमालयन बैंकका सीईओ राणाले जितेका थिए ।
संघमा २० वटा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत सदस्य छन् । संघले नेपालको मौद्रिक नीति तथा बैंकिङ क्षेत्रको बारेमा नीतिगत पैरवी गर्ने काम गर्छ । तरलता अभाव भएको बेला बैकर्स संघले निक्षेपको अधित्तम ब्याजदरसमेत भद्र सहमतिको नाममा तोक्ने गर्छन्।
प्रतिक्रिया दिनुहोस्