काठमाडौं । नयाँ र परिस्कृत मुद्राका रूपमा प्रयोगमा आउन थालेको बिटक्वाइनको मूल्य अन्तर्राष्ट्रिय बजार मूल्य १ लाख अमेरिकी डलर नाघेको छ । बिहीबार बिहानको तथ्यांक अनुसार बिटक्वाइन १ लाख ३ हजार अमेरिकी डलरमा कारोबार भएको हो ।
बुधबारको तुलनामा यो ४.६७ प्रतिशतले वृद्धि भएको बताइएको छ । पछिल्लो महिनामा बिटक्वाइनको मूल्य उच्च रुपमा वृद्धि भइरहेको छ । क्रिप्टोकरेन्सीलाई प्रोत्साहन गर्ने डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएपछि बिटक्वाइनको मूल्य बढेको बताइएको छ । यपटक बिटक्वाइनसँगै क्रिप्टोकरेन्सीका अन्य मुद्राहरु इथरियम लगायतको पनि मूल्य बढेको छ ।
त्यसो त ट्रम्प निर्वाचित भएलगत्तै बिटक्वाइनको मूल्य ह्वात्तै बढेको थियो । यसबीचमा एक महिनामै बिटक्वाइनको मूल्य करिब ४७ प्रतिशतले वृद्धि भएको देखिन्छ । विश्वका अधिकांश देशमा गैरकानुनी मानिएको क्रिप्टोकरेन्सीलाई ट्रम्पले भने प्रोत्साहन गर्दै आएका छन् ।
ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपछि नै अधिकांश क्रिप्टो कारोबार गर्नेहरु उत्साही देखिएका छन् । जबकि ट्रम्पले चुनावी भाषणको क्रममा अमेरिकालाई बिटक्वाइन र क्रिप्टोकरेन्सीको राजधानी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए । क्रिप्टोकरेन्सीलाई नेपाललगायत थुप्रै देशहरुमा भने गैरकानुनी नै मानिन्छ ।
प्रतिक्रिया दिनुहोस्