काठमाडौं । यो साता नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ । यो साता गत साताको तुलनामा १३ दशमलव १२ अंकले घटेर बजार बन्द भएको हो ।
गत साता २७४८ दशमलव ०५ विन्दुमा बन्द भएको नेप्से परिसूचक यो साता १३ दशमलव १२ अंकले घटेर २७३४ दशमलव ९३ विन्दुमा झरेको छ । यो गत साताको भन्दा ०.४८ प्रतिशतले कम हो । यो साता ५ कारोबार दिनमध्ये तीन कारोबार दिन नेप्से घटेको थियो भने दुई कारोबार दिन नेप्से बढेको थियो । यस साताको सोमबार र मंगलबार नेप्से बढेको थियो ।
यस साता सेन्सेटिभ इण्डेक्स १३.४९ अंक घटेको छ भने फ्लोट इण्डेक्स ३.२३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.३३ अंक घटेको छ । नेप्से घटेपनि यस साता कारोबार रकम भने बढेको छ । गत साता दैनिक औषतमा ७ अर्ब ८८ करोडको सेयर खरिदबिक्री भएको बजारमा यो साता दैनिक औषतमा ९ अर्ब ८ करोडको सेयर किनबेच भएको छ । गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम १५.२७ प्रतिशत बढेको हो । यस साता दैनिक औषत सेयर संख्या २५.६३ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या १७.७१ प्रतिशत बढेको छ ।
यस साता नेप्सेको कुल बजार पुँजीकरण ०.४४ प्रतिशत घटेको छ । गत साताको अन्तिम कारोबार दिन ४५ खर्ब ५६ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पुँजीकरण, यस साता १९ अर्ब रुपैयाँ घटेर ४५ खर्ब ३६ अर्बमा झरेको छ । १३ उपसमूहमध्ये यस साता ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ । यस साता व्यापार उपसमूहको परिसूचक सर्वाधिक १९.९९ प्रतिशत बढेको छ । त्यस्तै, यस साता जीवन बीमा र जलविद्युत उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ । अंकका आधारमा पनि यस साता व्यापार उपसमूहकै परिसूचक सर्वाधिक ८४५ दशमलव २८ अंक बढेको छ । गत साता ४२२९ दशमलव १९ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक यस साता ५०७४ दशमलव ४७ विन्दुमा पुगेको छ ।
यस साता वित्त उपसमूहको परिसूचक सर्वाधिक ७.४३ प्रतिशत घटेको छ । गत साता ३६३८ दशमलव २५ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता २७० दशमलव २८ अंक घटेर ३३६७ दशमलव ९७ विन्दुमा झरेको छ ।
प्रतिक्रिया दिनुहोस्