काठमाडौं । नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशक खाली भएको लामो समय वितिसकेको छ । तत्कालिन कार्यकारी निर्देशक राजुरमण पौडेल अनिवार्य अवकाशमा पाए पछि कार्यकारी निर्देशकको पद खाली रहेको हो ।
प्राधिकरणको कार्यकारी निर्देशक खाली भएको ७ महिना भन्दा बढी भइसक्यो । सात महिना वितिसक्दा पनि कार्यकारी निर्देशक नियुक्तिको प्रक्रिया समेत सुरु हुन सकेको छैन् । राजुरण पौडेल जेठ १२ गते अनिवार्य अवकाश पाए पछि अहिलेसम्म बीमा क्षेत्रको नियामनकारी निकाय कार्यकारी निर्देशक बिहीन अवस्थामा रहेको छ ।
प्राधिकरणमा अध्यक्ष पछिको पद नै कार्यकारी निर्देशक हो । अध्यक्ष राजनीतिक नियुक्त हुने पद हो । कार्यकारी निर्देशक कर्मचारीबाट नियुक्त हुने व्यवस्था रहेको छ । तर, बीमा कम्पनीहरुलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) ९० दिन भन्दा बढी खाली नराख्न भन्ने नियामक आफै भने ७ महिनादेखि कार्यकारी निर्देशक बिहीन रुपमा चलिरहेको छ ।
पछिल्लो समय उप कार्यकारी निर्देशकको पद पनि थप भएका कारण कार्यकारी निर्देशक नियुक्तिको प्रक्रिया थप लम्बिएको छ । कार्यकारी निर्देशक र उप कार्यकारी निर्देशक सँगै नियुक्त गर्न खोज्दा यो प्रक्रिया थप लम्बिने गएको प्राधिकरणका कर्मचारीको भनाइ छ । नियामक आफैले आफ्नो कार्यकारी नियुक्तिमा ढीलाइ गर्दा उसले कम्पनीहरुलाई समयमा नियुक्ति गर भन्ने नैतिकका कायम राख्न सक्छ ? यो अहिले बीमा क्षेत्रमा उठी रहेको प्रश्न हो । बीमा कम्पनीमा कामु सीईओको व्यवस्था भए पनि प्राधिकरणमा कामु कार्यकारी निर्देशकको जिम्मेवारी पनि कसैलाई तोकिएको छैन । कात्तिक महिनामा बीमा प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने बताएका प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलावाल अहिले देश बाहिर रहेका छन् ।
उनी अहिले दक्षिण अफ्रिकामा भइरहेको बीमा पर्यवेक्षकहरूको अन्तर्राष्ट्रिय संघ (एआएआईएस) भाग लिन देश बाहिर रहेका छन् । उनी यो कार्यक्रममा सहभागि हुन जाुन भन्दा केही समय अघि श्रीलंका भ्रमणमा गएका थिए । बीमा पर्यवेक्षकहरूको अन्तर्राष्ट्रिय संघ (एआएआईएस) को नेपाल संस्थापक सदस्य राष्ट्र भएकाले बार्षिका कार्यक्रममा प्राधिरण सहभागि हुनै पर्ने प्राधिरणका सह प्रवाक्ता पुनम ज्ञावाली श्रेष्ठको भनाइ छ । अहिले प्राधिरणमा थप दुई जना उप कार्यकारी निर्देशकको दरबन्द थपिएर आएको र उक्त दरबन्दी स्वीकृत नभएका कारण कार्यकारी नियुक्ति प्रक्रिया सुरु हुन नसकेको सह प्रवक्ता पुनम ज्ञावाली श्रेष्ठको भनाइ छ ।
उप कार्यकारी निर्देशकको पनि दबन्दी थप भएर आएको र त्यो अर्थमन्त्राय मार्फत लोकसेवामा पठाइएको छ । उताबाट स्वीकृत भएर आए पछि मात्रै प्राधिरणको कायर्ककारी नियुक्ति प्रक्रिया सुरु हुन्छ,’ उनले भनिन्, ‘बिनियममा उप कार्यकारी निर्देशकको व्यवस्था नभएकाले अर्थमन्त्रालय मार्फत लोकसेवामा बिनियम संसोधनका लागि अनुरोध गरेका छौँ ।’
लोक सेवा आयोगले एक आर्थिक वर्षमा एक पटक मात्रै कर्मचारीको नियुक्तिको लागि स्वीकृती दिने भएकाले थपिएर आएका दुई उप कार्यकारी निर्देशक र कार्यकारी निर्देशकसँगै नियुक्ति गर्नु पर्ने अवस्था देखिएको छ । यसले गर्दा अझै पनि बीमा प्राधिरणले कार्यकारी निर्देशक पाउनका लागि केही समय लाग्ने निश्चित देखिन्छ । बीमा प्राधिरणका अध्यक्ष सिलवालको कार्यकाल यहि माघ १९ गते सकिदैछ । अध्यक्ष सिलवालको कार्यकाल सकिनु भन्दा पहिले नै कार्यकारी निर्देशक नियुक्त हुन्छ वा उनी बिदा भइसकेपछि नियुक्त हुन्छ यो भने केही समय कुर्नु पर्ने देखिन्छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कर्मचारीबाट नियुक्त गर्नुपर्ने पद हो । जसका लागि अहिले बीमा प्राधिकरणका ३ जना निर्देशक दावेदार छन् । अहिले प्राधिकरणमा रहेका निर्देशकहरु कमलप्रसाद रेग्मी, सुशीलदेव सुवेदी र पुनम ज्ञावाली श्रेष्ठ मध्ये एक जना कार्यकारी निर्देशक हुने छन् । लामो समयदेखि कार्यकारी निर्देशक रिक्त हुँदा कार्यसम्पादनमा समस्या भइरहेको प्राधिकरणका कर्मचारीहरुले बताउने गरेका छन् ।
कार्यकारी निर्देशक बन्नका लागि पाँच वर्ष निर्देशक पदमा काम गरेको हुनुुपर्ने हुन्छ । जस अनुसार अहिलेका निर्देशक कमल प्रसाद रेग्मी, सुशीलदेव सुवेदी र पुनम ज्ञावाली कार्यकारी निर्देशकको लाइनमा छन् । सुवेदी अहिले प्राधिकरणको प्रवक्ताको जिम्मेवारी पनि रहेका छन् । ३ जनामध्ये सबैभन्दा वरिष्ठ रेग्मी हुन । तर उनलाई नेतृत्वले नपत्याएका कारण उनको सम्भावना कम देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्